Headline

शख्तरका २० बर्षिय ब्राजिलियन जसले रियल म्याड्रिडलाई ध्वस्त पारे

Published

on

अक्टोबर २१ शख्तर दोनेस्कका २० बर्षिय ब्राजिलियन मिडफिल्डर टेटेले बिश्व फुटबलमा आफ्नो आगमन भएको घोषणा गरेका थिए ।

टेटेले उत्कृष्ट गोल र एक असिस्टसँगै अविश्वसनीय एकल प्रदर्शन देखाएपछि युक्रेनियन क्लबले च्याम्पियन्स लिगको पहिलो हाफमा नै १३ पटकको च्याम्पियन रियल म्याड्रिडबिरुद्ध ३–० को अग्रता पाएको थियो । त्यो पनि रियलकै मैदानमा ।

रियल खेलमा फर्किएपनि ३–२ ले खेल जित्न सफल शख्तर मङ्गलवार आफ्नो घरेलु मैदानमा रियललाई स्वागत गर्दैछ । ब्राजिलियन एट्याकिङ्ग मिडफिल्डर टेटे यो खेलले आफ्नो करिअरको अबको बाटो निर्धारण गर्नका लागि एक कोशेढुँगा साबित हुने मान्छन् ।

“रियल म्याड्रिडमा भएको खेल मेरो अहिलेसम्मको करिअर यात्रामा अविस्मरणीय र उत्कृष्ट थियो । मार्सेलो र कासिमेरो जस्ता लेजेण्डबिरुद्ध खेल्नु मेरो लागि उच्च सम्मान र हर्ष दुवै थियो । त्यो मेरो सपना साचो भएको दिन हो,” टेटेलाई बिबिसीलाई दिइएको एक अन्तर्वार्तामा भनेका छन् ।

“म आफूसँगको भएको स्किल देखाउदै आफूलाई साबित गर्न चाहन्थे । त्यसैले मार्सेलोसँग वान भर्सेस वानमा ड्रिबल गर्दै बल लिएर गएको थिए । आफ्नो टोलीको लागि त्यति महत्वपूर्ण परिणाममा अहम भुमिका खेल्नु मेरो लागि निकै खुशीको कुरा थियो,” उनले भने ।

टेटेले स्पेनमा देखाएको प्रदर्शनले शख्तरमै आफ्नो खेल बिकास गरेका म्यानचेस्टर सिटीका फर्नान्डिन्हो, आर्सनलका विलियन र हाल लोनमा बायर्न म्युनिखमा रहेका युभेन्टसका डगलस कोस्टा जस्ता चर्चित ब्राजिलियनहरुको सुचिमा जाने प्रतिभा रहेको स्पष्ट देखिन्छ ।

रियल म्याड्रिडको टोलीमा स्टारहरुको कमि थिएन तर त्यो दिन नाम टेटेले कमाए

ब्राजिलमा आफ्नो स्काउटिङ्ग नेटवर्कका कारण प्रख्यात रहेको शख्तरको टोलीको प्रदर्शन झण्डै दुई दशकदेखि ब्राजिलियन खेलाडीहरुकै वरिपरि घुम्ने गरेको छ । हाल शख्तरमा १३ ब्राजिलियन खेलाडीहरु छन् र टेटेको कथा बिशेष छ ।

२०१९ को शुरुवातमा सिनियरमा टिमको कुनै अनुभव नभएको टेटेलाई शख्तरले १३ दशमलव ५ मिलियन पाउण्डमा ग्रेमियो एकेडेमीबाट खरिद गरेको थियो । आउने बित्तिकै उनले शख्तरमा पुरै सिजनमा प्रभावकारी प्रदर्शन दिएका थिए । यसमा गत बर्ष म्यानचेस्टर सिटीबिरुद्धको १–१ बराबरीमा म्यान अफ द म्याच प्रदर्शन पनि रहेको छ ।

“शख्तरको वातावरण मलाई सुहाउदो भएको बुझेर नै मलाई युक्रेन जाने निर्णय लिन गाह्रो भएको थिएन । म जसरी ग्रेमियोमै हुर्किएका डगलस कोस्टासँग कुरा गर्दा उनले शख्तरमा धेरै ब्राजिलियनहरु रहेको बताएका थिए । म आरामले क्लबमा सेटल भए । प्रशिक्षक लुइस कास्ट्रो र न्युट्रिसनिस्ट दुवै पोर्चुगलका हुन् । यहाँ सबै पोर्चुगिज बोल्ने गर्छन् र क्लबले पनि खेलाडीहरुलाई घर जस्तै महसुस गराउन कुनै कसर बाकी राखेको छैन,” टेटे भन्छन् ।

टेटे डगलस कोस्टालाई नै पछ्याउन चाहन्छन् भने उनको आइडल ग्रेमियोबाटै करिअर शुरुवात गरेका अर्का ब्राजिलियन लेजेण्ड रोनाल्डिन्हो हुन् । तर टेटेको लागि प्रेरणाको भने बिश्व लेजेण्ड पेलेको खेलहरु हेरेर नै मिल्ने गरेको छ ।

“मलाई पेलेले जहिल्यै आकर्षित गर्ने गर्छन् । उनी अचम्मका थिए । मलाई आफ्नो हरेक खेलअघि ड्रेसिङ्ग रुममा मोबाइलमा उनको खेलको भिडियोहरु हेर्ने बानी परिसकेको छ । उनीसँग भेट्न अथवा कम से कम कुरा गर्नु पनि मेरो लागि ठूलो सपना नै हो । शायद रियल म्याड्रिडलाई एक पटक फेरि पराजित गर्ने हो भने त्यो सपना पनि पुरा हुनेछ,” बार्सिलोनाका स्वघोषित फ्यान टेटेले भने ।

गत बर्ष म्याचेस्टर सिटीबिरुद्ध खेल्दा नै उनी फुटबल बिश्लेषकहरुको नजरमा परिसकेका थिए । अब पालो ठूलो स्टेजको मात्र हो ।

“मेरो सबैभन्दा ठूलो सपना बार्सिलोनाका लागि खेल्नु नै हो । रोनाल्डिन्हो, रिभाल्डो, रोमारियो र रोनाल्डो सबै बार्साका लागि खेल्दथे । म त्यो सुचिमा संलग्न हुन चाहन्छु । रियल म्याड्रिडसँग शुरुवाती ११ मा हुदा पनि यसले केही हदसम्म त्यो सपनलाई पुरा गर्नु हो ।

फुराकाओ (आधिबेहरी) निकनेम पाएका टेटेको खेल्ने शैलीले पुर्व नेदरल्याण्ड्स र बायर्न म्युनिख विँगर आर्जेन रोबेनको झल्को दिने गर्दछ, यसको कारण हो आफ्नो बलियो बाया खुट्टाबाटै उनी डिफेन्डरहरुलाई स्लाइस गर्दै पेनाल्टी बक्सभित्र छिर्न चाहन्छन् ।

“एक पटक मैले ग्रेमियोको युथ टिमको लागि उत्कृष्ट प्रदर्शन गरेको थियो र त्यसपछि मलाई पत्रकारहरुले फुराकाओ भनेर नाम दिए । मलाई यो राम्रो लाग्छ किनभने यसले मेरो खेल्ने बिष्फोटक शैलीलाई प्रतिविम्बित गर्छ,” उनी भन्छन् ।

“म टिनऐजमा हुदा सेन्ट्रल मिडफिल्डरको रुपमा खेल्ने गर्थे र मलाई बायापछि पनि एक–दुई पटक खेलाउने प्रयास भएको थियो । तर राइट विँगमा मेरो लागि सबैभन्दा मन पर्ने स्थान हो । मान्छेहरु मलाई रोबेनले जसरी खेल्छ भन्छन् र प्रयास गर्दै उनको स्तरसम्म पुग्नु मेरो लागि राम्रो हुनेछ ।”

Click to comment

Trending