Headline

भिल्लाको नाटकीय हार, फुलह्याम रेलिगेसन जोनबाट बाहिर

Published

on

लेस्टर सिटीलाई २–१ ले स्तब्ध बनाउदै फुलह्याम इङ्गलिस प्रिमियर लिगको रेलिगेसन जोनबाट बाहिर निस्किएको छ ।

एडिमोला लुकम्यान र इभान काभालिरोले गोल गरेपछि फुलह्यामले यो सिजनको दोश्रो जित हात पारेको हो । १० खेलमा ७ अंक सहित फुलह्याम १७ औं अंकमा रहेको छ भने १८ अंक रहेको लेस्टर चौथो स्थानमा कायमै छ ।

खेलको ३० औं मिनेटमै फुलह्यामले लुकम्यानको गोल मार्फत अग्रता दिलाएका थिए । उक्त गोल उनले गत साता ४२ बर्षको उमेरमा निधन भएका सेनेगल फुटबलर पापा बौबा डुपलाई समर्पित गरेका थिए । ८ मिनेटपछि नै फुलह्यामले पेनाल्टी पायो र त्यसलाई काभालिरोले गोलमा परिणत गरे ।

फुलह्याम यो सिजन चौथो पेनाल्टीमा आएर सफल भएको थियो । लेस्टरका लागि ह्यारी बार्नेसले अन्तिम समयमा गोल गरेपछि फुलह्याम जित हात पार्न सफल रह्यो ।

सोमबार नै भएको निकै नै सनसनीपूर्ण खेलमा खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै वेष्टह्याम युनाइटेड पाचौं स्थानमा उक्लिएको छ । वेष्ट ह्यामको १७ अंक भएको छ भने १० औं स्थानमा रहेको भिल्लाको १५ अंक छ ।

एन्जेलो ओग्बोनाले दोश्रो मिनेटमै गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए तर २५ औं मिनेटमा ज्याक ग्रिलिसले भिल्लाका लागि बराबरी गोल गरे । दोश्रो हाफ शुरु भएको एक मिनेट पनि बित्न नपाउदै जारोड बोवेनले वेष्टह्यामको अग्रता फर्काएका थिए ।

तर खेल यतिमै समाप्त भएको थिएन । नाटकीय रुपमा भिल्लाले दुई पटक गोल गर्ने मौका चुकाएको थियो जसमा दुवै पटक ओली वाट्किन्स सामेल थिए । ७४ औं मिनेटमा वाट्किन्सको पेनाल्टी पोस्टमा लागेको थियो भने अन्तिम समयमा उनले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रिले उनको हात अफसाइड भएको देखाएको थियो ।

Click to comment

Trending