Headline

दुई खेल अगाडी नै बायर्न, सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

Published

on

डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिख र म्यानचेस्ट सिटी समुह चरणको दुई खेल बाकी रहदै च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

रोबर्ट लेवान्डोस्की, किँगस्ले कोमन र लिरोय सानेले गोल गरेपछि बायर्नले साल्ज्बर्गलाई ३–१ ले पराजित गर्यो । आफ्नो करिअरको ७१ औं च्याम्पियन्स लिग गोल गर्ने क्रममा लेवान्डोस्कीले ४२ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए ।

लेवान्डोस्की च्याम्प्यिन्स लिग इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरुको सुचीमा पुर्व रियल म्याड्रिड स्टार राउलसँगै संयुक्त रुपमा तेश्रो स्थामा रहेका छन् । क्रिष्चियानो रोनाल्डो १ सय ३१ र लियोनेल मेस्सी १ सय १८ गोलसहित पहिलो र दोश्रो स्थानमा रहेका छन् ।

बायर्नलाई च्याम्पियन्स लिगमा लगातार १५ औं जित दिलाउने क्रममा कोमनले ५२ औं मिनेटमा दोश्रो गोल गरे भने ६८ औं मिनेटमा उनकै असिस्टमा सानेले गोल गर्दा खेल लगभग आफ्नो पक्षमा पारिसकेको थियो । ७३ औं मिनेटमा मेर्गिम बेरिसाले अष्ट्रिय च्याम्पियनका लागि सान्त्वना गोल फर्काएका थिए ।

बायर्न १२ अंक सहित समुह ए को शिर्ष स्थानमा रहेको छ भने लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकिएको एट्लेटिको म्याड्रिडको पाँच अंक रहेको छ ।

समुह सीमा चारमध्ये चारै खेलमा जित दिलाउने क्रममा सिटीले ग्रिक टोली ओलम्पियाकोससँग १–० को संघर्षपूर्ण नतिजा निकाल्यो । सिटीको लागि बिजयी गोल फिल फोडेनले गरेका थिए । २१ पटक पोस्टमा प्रहार गरेको सिटी मात्र एकमा सफल भएको थियो ।

समुह सीमा मार्सेलाई २–० ले हराउदै एफसी पोर्टो अन्तिम १६ नजिक पुगेको छ । २०११–१२ को सिजनलेखि मार्सेले च्याम्पियन्स लिगमा यो लगातार १३ औं पराजय ब्यहोरेको हो । जाइदु सानुसी र सर्जियो ओलिभेराको गोलको मद्दतमा पोर्टो दोश्रो स्थानमा कायम रहेको हो ।

६ पटकको च्याम्पियन्स लिग बिजेता लिभरपुल भने एट्लान्टासँग स्तब्ध भएपछि प्रि–क्वार्टरफाइनलको यात्रामा धक्का लागेको छ । तीन हप्ताअघि लिभरपुलले यही टोलीलाई ५–० ले हराएको थियो तर त्यसयता भने चोटका कारण लिभरपुल निकै कमजोर बनेको छ ।

समुह डीमा लिभरपुलको ९ अंक रहेको छ भने एट्लान्टा र आयाक्सको समान ७ अंक छ । आयक्सले बुधबारकै खेलमा मिजिल्याण्डलाई ३–१ ले हरायो ।

घरेलु मैदानमै रियल म्याड्रिडसँग २–० ले पराजित भएपछि इन्टर मिलान प्रतियोगिताबाट लगभग बाहिरिएको छ । आर्टुरो भिडाल रेड कार्ड खादै बाहिरिएपछि इन्टरलाई नराम्रो झड्का लागेको थियो ।

एडेन हजार्डले रियललाई पहिलो हाफमा अग्रता दिलाएका थिए भने भिडाल ३३ औं मिनेटमा मैदान बाहिरिएपछि इन्टर १० खेलाडीमा सिमित भएको थियो । ५९ औं मिनेटमा असरफ हकिमीले आत्मघाती गोल गर्दा रियललाई सहज भएको थियो ।

Click to comment

Trending