Headline

भ्रष्टाचार अभियोगमा अफ्रिकाको फुटबल अध्यक्ष पाँच बर्ष प्रतिबन्धमा

Published

on

भ्रष्टाचार अभियोगमा फिफाले अफ्रिकन फुटबल महासंघ (सिएएफ) का अध्यक्ष अहमद अहमदलाई पाँच बर्षको प्रतिबन्ध लगाएको छ ।

अहमदले अर्को चार बर्षको कार्यकालका लागि पुननिर्वाचित हुनका लागि आधिकारिक अभियान थालेकै दिन उनलाई प्रतिबन्ध गरिएको बिश्व फुटबलको सर्वोच्च निकायले घोषणा गरेको हो । मादागास्कर फुटबल संघका अध्यक्ष पनि रहेका अहमद सिएएफको अध्यक्ष भएको हैसियतले नै फिफाका उपाध्यक्ष पनि हुन् ।

फिफा एथिक्स कमिटीले अहमद “कर्तब्यप्रति बफादार नभएको, उपहारको रुपमा घुष दिएको, कोषमा हिनामिना गरेको र सिएएफ अध्यक्ष पदको दुरुपयोग गरेको” ठहर गरेको हो । मादागास्करका पुर्व सरकारी अधिकृत अहमदलाई दुइ लाख २० हजार डलर जरिवाना पनि गरिएको छ ।

इजिप्टको राजधानी कायरोमा रहेको सिएएफ मुख्यालयमा उनको चार बर्षे कार्यकाल आर्थिक हिनामिनाकै आरोपको सेरोफेरोमा घुमेको थियो । २०१९ को महिला बिश्वकप शुरु हुनु एक दिन अघि उनलाई पेरिसमा फ्रेञ्च पुलिसले पक्राउ गर्दै फुटबलसंघ सम्बन्ध नै नभएको एक कम्पनीसँग सिएएफका लागि सामान खरिद गर्न गरेको सम्झौताका बिषयमा सोधपुछ गरेको थियो ।

सिएएफको अडिट रिपोर्टमा अहमदको नेतृत्वले आर्थिक अपचलन गरेको देखिएको थियो । फिफा आफैले निर्देशन दिएको उक्त रिपोर्ट तयार भइरहदा फिफा आफैले ६ महिनाका लागि सिएएफ चलाएको थियो ।

सिएएफले अहमद सहित अफ्रिका महादेशको सदस्य राष्ट्रका अध्यक्षहरुलाई १८ जनालाई साउदी अरेबियाको मक्काको धार्मिक भ्रमणका लागि एक लाख डलर दिएको पाइएको थियो । मोरक्कोको राबाटमा मार्च १२ मा सिएएफले नयाँ नेतृत्वका लागि निर्वाचन गर्न गइरहेको छ ।

Click to comment

Trending