Headline

मुकोकोले किर्तिमान कायम गरेको दिन हालान्डको चार गोल

Published

on

युसुफा मुकोकोले बुन्डेसलिगामा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दै नयाँ किर्तिमान कायम गर्दा बोरुसिया डर्टमण्डले एर्लिङ हालान्डको चार गोलको मद्दतमा हर्था बर्लिनलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ ।

शुक्रबार १६ बर्ष पुगेपछि डेब्यु गर्न योग्य भएपछि शनिबारको खेल मुकोकोको वरिपरि नै घुमेको थियो । तर बर्लिनको चिसो रातलाई हालन्डको उत्कृष्ट खेलले ततायो । हालान्डले चार गोल गरेपछि उनकै स्थानमा मुकोको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

“मलाई लाग्छ मुकोको संसारकै सबैभन्दा ठूलो प्रतिभा हुन् । १६ बर्ष एक दिनको उमेरमा डेब्यु गर्नु साच्चिकै अचम्मको उपलब्धि हो । म अहिले २० बर्ष कटिसके र बुढो भइसके जस्तो लाग्दैछ,” हालान्डले ठट्टा गर्दै भने ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा हर्था बर्लिनले ३३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर दोश्रो हाफ पूर्ण रुपमा डर्टमण्ड, बिशेषत, हालान्डको नियन्त्रणमा रह्यो । उनले लगातार तीन गोल गर्दा डर्टमण्डले ६२ औं मिनेटसम्म ३–१ को अग्रता बनाइसकेको थियो ।

राफेल गुरेरो ७० औं मिनेटमा चौथो गोल गरे । बर्लिनले दोश्रो गोल फर्काएको एक मिनेट भित्रै हालान्डाले चौथो गोल गरेका थिए । बर्लिनका लागि दुवै गोल माथिउस कुन्हाले गरेका थिए ।

शिर्ष स्थानको बायर्न म्युनिख भने वर्डर ब्रेमनसँग १–१ गोलको बराबरीमा रोकिदा उसको सबै प्रतियोगितामा हात पारेको लगातार ९ खेलको जितको श्रंखलामा पूर्णविराम लाग्न पुग्यो । म्याक्सिमिलियन एगेस्टेनले पहिलो हाफमा ब्रेमनलाई अग्रता दिलाएका थिए भने किँगसले कोमनले ६२ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

२०१० को सेप्टेम्बरको गोलरहित बराबरीपछि ब्रेमनले पहिलो पटक बायर्नलाई बराबरीमा रोकेको हो । ८ चरणको समाप्तिपछि बायर्नको १९ अंक रहेको छ भने डर्टमण्ड मात्रै एक अंकले पछाडी छ । बायर लेभरकुसन (१८) र आरबी लाइपजिग (१७) तेश्रो र चौथो स्थानमा रहेका छन् ।

Click to comment

Trending