Headline

इङ्गलिस प्रिमियर लिगमा आजः चेल्सी र न्युकासल खेल्दै, टोटनह्याम र सिटीको ठुलो भिडन्त

Published

on

झन्डै दुई साता लामो अन्तर्राष्ट्रिय बिश्राम पछि शनिबारदेखि फेरी इङ्गलिस प्रिमियर लिगको खेलहरु शुरु हुँदैछन् ।

शनिबारको पहिलो खेलमा चेल्सीले न्युकासल युनाइटेडको सामना गर्ने छ भने दोस्रो खेलमा एस्टन भिल्ला र ब्राइटन र तेस्रो खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीबिरुद्ध खेल्नेछ । अन्तर्राष्ट्रिय बिश्राम शुरु हुनु अघि भएको खेलमा सेफिल्ड युनाइटेडलाई उत्कृष्ट कमब्याक गर्दै हराएको चेल्सीले शनिबार भने न्युकासल युनाइटेडको सामना गर्न लागेको हो । अन्तर्राष्ट्रिय खेलहरुमा पनि चेल्सीका खेलाडीहरु निकै फर्ममा रहेको देखिएको थियो ।

न्युकासल भने अन्तर्राष्ट्रिय बिश्राम अघि भएको साउथह्याम्प्टन विरुद्धको खेलमा २–० ले पराजित भएको थियो । चेल्सीका लागि थियागो सिल्वा र क्रिष्चियन पुलिसिचले यो खेल गुमाउने छन् । काइ ह्याभर्ट्ज भने कोरोना संक्रमणबाट मुक्त भए पनि खेलका लागि फिट नभएको प्रशिक्षक फ्रांक लाम्पार्डले बताएका थिए ।

सेन्ट जेम्स पार्कमा हुने खेलमा घरेलु टोली न्युकासल चेल्सीसँग पछिल्लो सात खेलमा एकमा मात्रै पराजित भएको छ । खेल नेपाली समय अनुसार १८ः१५ मा सुरु हुने छ ।

यस्तै अर्को ठुलो खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीको सामना गर्दै छ । पछिल्ला २० खेलमा सिटीसँग दुई खेलमा मात्रै पराजित भएको टोटनह्यामका लागि घरेलु मैदानमा जित निकाल्दै शिर्ष स्थानमा चढ्ने सुवर्ण अवसर रहेको छ ।

दुई उत्कृष्ट प्रशिक्षक होजे मोउरिन्हो र पेप ग्वार्डियोला बिचको भिडन्त मानिएको यो खेल रोमान्चक नहुने त कुरै छैन । टोटनह्यामले समाएको लय र सिटीको खस्कदो प्रदर्शनमा कुन टोलीले तीन अंक हात पार्ने हो भन्न निकै गार्हो रहेको छ ।

सिटीका लागि सर्जियो अगुवेरोले चोटका कारण यो खेल गुमाउन सक्ने छन् । खेल नेपाली समय अनुसार ११ः१५ मा सुरु हुने छ । यस्तै अन्य खेलहरुमा एस्टन भिल्लाले ब्राइटनसँग नेपाली समय अनुसार ८ः४५ मा खेल्ने छ भने १ः४५ मा हुने खेलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रोमसँग खेल्ने छ ।

Click to comment

Trending