Headline

आइ-लिगका लागि ढाकाबाटै पन्जाब लागे किरण, अभिषेक डिसेम्बरसम्ममा पुग्ने

Published

on

भारतको आइ-लिगका लागि नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बङ्गलादेशबाट सिधै भारत प्रस्थान गरेका छन् ।

इन्डियन सुपर लिगलाई अल इण्डिया फुटबल फेडेरेशन (एआईएफएफ) ले यो बर्ष देखी शिर्ष डिभिजनको लिग घोषणा गर्ने तयारी गरिरहदा आई–लिगको अस्तित्व के हुने अन्यौल नै रहेको छ । आई लिगले लामै समयदेखि भारतमा शिर्ष डिभिजनको फुटबलको मान्यता पाउदै आएको छ भने लोकप्रियताको हिसाबमा आईएसएल निकै माथि पुगिसकेको छ ।

एसियन फुटबल कन्फेडेरेशनको नयाँ नियम अनुसार एएफसी कपमा आईएसएलको बिजेताले सहभागिता जनाउने भइसकेका छन् भने दुवै लिगको नकआउट क्वालिफायरबाट अर्को टोलीले पनि सहभागिता जनाउन सक्नेछ ।

नेपालबाट यो सिजन दुई खेलाडी आई–लिग खेल्दै छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले राउन्डग्लास पन्जाब एफसि (पहिले मिनर्वा पन्जाब) बाट खेल्दै छन् भने नेपाली यु-२३ का फर्वार्ड अभिषेक रिजालले भने भर्खरै आइ-लिगको छनोट चरण खेल्दै बिजेता भएको मोहम्मदन स्पोर्टिङ्गबाट आइ लिग खेल्ने छन् ।

अभिषेकको यो पहिलो आइ-लिग अनुभव हुनेछ भने किरणले २०१८ देखी पन्जाबमा खेल्दै आएका छन् । किरण २०१८ को आइ-लिग बिजेता पनि हुन् । यी दुवै नेपाली खेलाडी खेल्ने टोलीहरु निकै राम्रा भए पनि इन्डियन सुपर लिगमा उक्लिनका लागि भने निकै कठिन रहेको छ र यो कुरा अभिषेक पनि मान्छन् ।

“सबै टोली निकै राम्रा छन् । हामी यो पटक आइ-लिगमा उक्लिएका छौँ तर हाम्रो लक्ष्य भनेको इण्डियन सुपर लिग नै हो । कठिन त होला तर हेरौँ,” अभिषेक भन्छन् ।अभिषेकलाई भने केही साता अगाडी कोरोना संक्रमण भएको थियो ।

किरण अहिले नै भारत उडे पनि अभिषेक भने अझै पनि पूर्ण फिट नभएका कारण डिसेम्बर सम्ममा जाने बताए । “अहिले पनि म अझै केही फिट छैन र अहिलेको यो कोरोनाको अवस्थाले गर्दा म डिसेम्बर सम्ममा जाने छु,” उनले थपे ।

आइ-लिग यो पटक कोलकातामा हुँदै छ भने यो पटक ११ टोली हुनेछन् । डिसेम्बर अघि नै आइ-लिग सुरु गर्ने एआईएफएफको योजना भए पनि भरतको पश्चिम बङ्गाल सरकारले जनवरी देखी गर्न आग्रह गरेको थियो ।

Click to comment

Trending