Headline

पहिलो खेलको पराजय बिर्सदै आज बङ्गलादेशसँग खेल्दै नेपाल

Published

on

बङ्गलादेशबिरुद्ध पाँच बर्षमा पहिलो पराजय व्यहोरेपछि नेपाल मुजिब वर्षो फिफा मैत्रिपूर्ण सिरिज अन्तर्गतको दोश्रो तथा अन्तिम खेलमा घरेलु टोलीसँग खेल्दै छ ।

कोरोनाको संक्रमणले फुटबल गतिविधिहरु ठप्प बन्दा झण्डै एक बर्षपछि मैदानमा उत्रिएको नेपाल पहिलो खेलमा टिमको रुपमा निकै कमजोर देखिएको थियो । महबुबुर रहमान र नबिब नेवाज जीवनले गोल गरेपछि नेपाल २–० ले हार्न पुगेको थियो ।

लामो समयपछि मैदानमा फर्कदा नेपाली खेलाडीहरुको फिट्नेसमा कमजोरी स्पष्ट देखिए पनि दोस्रो हाफको अन्तिम ३० मिनेट भने सम्हालिएको नेपाल उक्त हारको पिडा बिर्सदै अगाडी बढ्न चाहन्छ ।

पहिलो खेलमा मात्र ७ हजार दर्शकलाई प्रवेश दिने भनिए पनि बंगबन्धु रंगशालामा उल्लेख्य संख्यामा दर्शक उपस्थित हुदा नेपाललाई घरेलु दवाब प्रशस्तै थियो । दोस्रो खेलमा पनि नेपालले घरेलु दर्शकको बिरुद्ध खेल्नु पर्नेछ । नेपालले भने पहिलो खेलको कमजोरीलाई सच्चाउने हो भने बङ्गलादेश विरुद्धको दोस्रो खेल अझै रोमान्चक हुने अपेक्षा गर्न सकिन्छ । प्रशिक्षक बालगोपाल महर्जन पनि पहिलो खेलको कमजोरीहरु सच्याउनु नै प्रमुख काम रहने मान्छन् ।

“पहिलो खेलको कमि–कमजोरीहरु सबैलाई सच्चाउदै खेलाडीहरुले दोस्रो खेलका लागि मैदान उत्रने छौँ, महर्जनले भने । “पहिलो खेलमा भएको डिफेन्सिभ र बल पोजेसनको गल्तीलाई दोस्रो खेलमा भने हामी सुधार्ने छौँ तर थोरै समयमा धेरै तयारी गर्नु परेकाले पनि केही बेफाईदा भने चाँही हुने नै भयो तर पनि खेलाडीहरुले दिएको प्रदर्शनमा म खुशी छु,“ उनले थपे ।

बङ्गलादेशमा रहेका नेपाली टोलीको कुनै खेलाडीलाई पनि यो खेलका लागि कोरोना संक्रमण देखिएको छैन । बङ्गलादेशका लागि भने मुख्य प्रशिक्षक जेमी डे लाई भने कोरोना संक्रमण देखिएको थियो । संक्रमण भएसँगै उनी नेपाल विरुद्धको दोस्रो खेलमा डग आउटमा देखिने छैनन् । डे लाई कोरोना देखिए पछि दोस्रो खेलका लागि भने बङ्गलादेशले प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक स्टुवर्ट वाट्किसलाई दिइएको छ ।

नेपालका लागि आजको खेलमा भने केही नयाँ अनुहारले डेब्यु गर्न सक्ने छन् । कोरोना संक्रमणका कारण पहिलो खेल गुमाएका फुलब्याक रन्जित धिमालले यो खेलका लागि फिट रहेका छन् । बङ्गलादेशले भने आफ्नो मुख्य गोलरक्षक शाहिदुल अलामलाई गुमाए पनि पहिलो खेलमा अनिशुर रहमानले राम्रो प्रदर्शन गरेपछि ठूलो समस्या भने बन्ने छैन ।

प्लेयर्स टु वाच

एरिक बिष्ट, मिडफिल्डर (नेपाल)

पहिलो खेलमा नेपालका भरपर्दा खेलाडी बिक्रम लामा घाइते भए पछि पहिलो हाफमै मैदान छिरेका एरिक बिष्टले राम्रो प्रदर्शन गरेका थिए ।आफ्नो डेब्यु खेलमै राम्रो छाप छोडेका एरिकले दोस्रो खेलमा बिक्रम फिट नहुने हो भने मौका पाउने देखिन्छ ।

नेपाली ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा खेल्दै राष्ट्रिय टोलीमा परेका एरिक मिडफिल्डको जुन पनि स्थानमा पनि खेल्न सक्ने खेलाडी हुन् । दोस्रो खेलमा २२ वर्षिय एरिकले शुरुवाती ११ मा मौका पाउने हो भने नेपालको मिडफिल्डमा राम्रो प्रदर्शन हेर्न सकिने अपेक्षा राख्न सकिने छ ।

सुमन रेजा, फरवार्ड (बङ्गलादेश)

नेपालसँगको पहिलो खेलमा बङ्गलादेशका लागि डेब्यु गरेका सुमोन रेजा निकै राम्रा स्ट्राइकर हुन् । उनले बङ्गलादेशलाई २–० ले पराजित गर्दा पहिलो गोल गर्नका लागि राम्रो तालमेल मिलाएका रेजा बङ्गलादेशका युवा खेलाडी हुन् ।

बङ्गलादेश फुटबल प्रिमियर लिगमा उत्तर भारिधरा स्पोर्टिङ्ग क्लबबाट खेल्ने क्रममा जेमी डे को आँखामा परेका सुमोनले पहिलो खेलमै टोली चर्चित फर्वार्ड बिप्लो अहमेदलाई बेन्चमा बस्न वाध्य बनाएका थिए । २० बर्षिय रेजा रणनीति अनुसारले खेल्न सक्ने थोरै फर्वार्ड मध्ये पर्ने पनि जेमी डे ले भनेका थिए ।

Click to comment

Trending