Headline

कोरोनाले बिक्षिप्त इटालीको सशक्त प्रदर्शन

Published

on

बिश्वकपमा छनोट हुन नसकेको तीन बर्षपछि इटाली युरोपमा उत्कृष्ट टोलीको रुपमा फर्किएको छ । कोरोना भाइरस संक्रमणले बिक्षिप्त बनाएको इटालीले आइतबार पोल्याण्डलाई २–० ले पराजित गर्दै युएफा नेसन्स लिगमा आफ्नो समुहलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको छ ।

बुधबार बोस्निया हर्जगोभिनालाई पराजित गर्ने हो भने इटाली अर्को बर्ष अक्टोबरमा हुने चार टिमको फाइनल्सका लागि छनोट हुनेछ । “निकै कठिन समयमा आफ्नो उत्कृष्ट दिनु र एकताबद्ध हुनु हाम्रो संस्कृति नै बनिसकेको छ । मैले खेल अगाडी यहि कुरा आफ्ना खेलाडीहरुलाई भनेको थिए र उनीहरुले सर्वोत्कृष्ट दिए पनि,” इटालीका सहायक प्रशिक्षक अल्बेरिको इभानीले भने ।

मुख्य प्रशिक्षक रोबर्टो मान्चिनी कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका कारण इभानीले टिम सम्हालेका थिए । मान्चिनीसँगै युरोपको अघिल्लो सिजनको गोल्डेन बुट बिजेता स्ट्राइकर सिरो इमोबिले पनि कोरोनाको संक्रमणका कारण अनुपस्थित रहेका थिए ।

इटालीका २० भन्दा बढी खेलाडी कोरोना संक्रमण र चोटका कारण अनुपस्थित रहेका थिए । इटालीले खेलको २७ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी मार्फत अग्रता लिएको थियो । ८४ औं मिनेटमा डोमिनिको बेरार्डीले गोल गरेपछि इटालीको जित सुनिश्चित भएको थियो ।

इटालीले ग्रुप १ को लिग ए मा ९ अंकको अग्रता लिएको छ । आइतबार नै बोस्नियालाई ३–१ ले पराजित गरेको नेदरल्याण्ड्सको ८ अंक भएको छ । ७ अंकका साथ पोल्याण्ड अझै पनि दावेदारीमा कायमै रहेको छ ।

नेदरल्याण्ड्सको सहज जितमा जोर्जिनियो वाइनाल्डमले दुई गोल गरेका थिए भने अर्को एक गोल मेम्फिस डिपेले गरे । लिग बि मा वेल्सले आयरल्याण्डलाई १–० ले हरायो । वेल्सको जितमा डेभिड ब्रुक्सले गोल गरेका थिए ।

Click to comment

Trending