Headline

मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि, पहिलो पटक फाइनल खेलेको दिल्ली उपविजेतामा सिमित

Published

on

दिल्ली क्यापिटल्स माथि पाँच विकेटको सहज जित हात पार्दै साबिक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चुमेको छ ।

योसँगै मुम्बईको पाँचौं आईपीएल उपाधि हो । मुम्बईले यस अघि सन् २०१३, सन् २०१५, सन् २०१७ र सन् २०१९ मा आईपीएलको उपाधि चुमेको थियो । पहिलो पटक आईपीएलको फाइनल खेलेको दिल्ली भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

दिल्लीले दिएको १५७ रनको लक्ष्य पक्ष्याएको मुम्बईले १८ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पार्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए भने ओपनर क्विन्टन डि ककले २०, सुर्य कुमार यादवले १९ रनको योगदान दिए भने इशान किशानले अविजित ३३ रनको पारी खेले ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५६ रनको मध्यम योगफल बनायो ।

अविजित रहेका दिल्लीका कप्तान श्रेयस ऐयरले ५० बलमा छ चौका र दुई छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए भने रिशब पन्तले पनि आक्रमक पारी खेल्दै ३८ बलमा चार चौका र दुई छक्काको मद्धतमा ५६ रनको पारी खेले ।

निकै नै खराब सुरुवात गरेको दिल्लीको लागि कप्तान श्रेयस ऐयर र रिशब पन्त दुबैले अर्धशतकीय पारी खेल्दै पारी सम्हालेका थिए । २२ रनमा तीन विकेट गुमाएको दिल्लीको पारी सम्हाल्ने क्रममा ऐयर र पन्तले चौथों विकेटका लागि ६९ बलमा ९६ रनको साझेदारी गरे ।

ओपनर मार्कस स्टोइनिस गोल्डेन डक आउट भए भने अर्का ओपनर शिखर धवनले पनि १५ रन भन्दा बनाउन सकेनन् । त्यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्य रहाने र शिम्रोन हेट मायरले पनि क्रमश दुई र पाँच तथा अक्सर पटेलले पनि नौं रन भन्दा जोड्न सकेनन् ।

दिल्लीलाई मध्यम स्कोरमा रोक्ने क्रममा मुम्बईका ओपनर बलर ट्रेन्ट बोल्टले चार ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे ।

मुम्बई पहिलो क्वालीफायरमा दिल्लीलाई नै तथा दिल्ली दोश्रो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलको यात्रा तय गरेको हो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन गत संस्करणमा रहेको थियो । गत बर्ष दिल्लीले तेश्रो स्थान हात पारेको थियो । चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई भने छैठौं पटक फाइनल खेलेको हो ।

मुम्बईले दिल्लीलाई यस अघि खेलेका तीन खेलमा नै पराजित गरेको थियो । दिल्लीलाई पहिलो क्वालीफायरमा ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै दिल्ली समुह चरणको दुबै खेलमा मुम्बईसँग क्रमश पाँच र नौं विकेटले पराजित भएको थियो ।

Click to comment

Trending