Headline

‘पोग्बा म्यानचेस्टर युनाइटेडमा खुशी छैनन्’

Published

on

फ्रान्स प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्ना मिडफिल्डर पउल पोग्बा म्यानचेस्टर युनाइटेडमा खुशी नरहेको बताएका छन् ।

पोग्बाले यो सिजन युनाइटेडका लागि ११ खेल खेलेका छन् तर ती मध्ये उनी पाँचमा शुरुवाती एघारमा परेका थिएनन् । गत शनिबार एभर्टनमाथि ३–१ को जित निकाल्दा पोग्बा ८२ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए ।

पोग्बा अहिले युएफा नेसन्स लिग अन्तर्गत फिनल्याण्ड, स्विडेन र पोर्चुगलबिरुद्धको खेलहरुका लागि फ्रान्सको राष्ट्रिय टोलीको क्याम्पमा रहेका छन् ।

“उनी यस्तो अवस्थामा छन् जहा न त उनी आफ्नो प्लेयिङ्ग टाइमलाई लिएर खुशी हुन सक्छन् न त आफ्नो फिल्ड पोजिसनलाई लिएर नै । उनको राम्रो समय चलिरहेको छैन । लगातारको चोट र कोरोना भाइरस संक्रमणले उनीमाथि नराम्ररी प्रभाव पारेको छ । उनले लय समात्नु आवश्यक छ,” डेसच्याम्प्सले भने ।

फ्रान्सका लागि कप्तान र प्रशिक्षकको रुपमा बिश्वकप जितेका डेसच्याम्प्सले राष्ट्रिय टोलीका लागि भने पोग्बालाई लिएर कुनै समस्या नभएको बताए । “मलाई लिएर त्यस्तो केही समस्या छैन । जब कुनै खेलाडी क्लबलाई लिएर असहज परिस्थितिमा आइपुग्छन् राष्ट्रिय टोलीमा खेल्दा निकै राम्रो अनुभव गर्छन्,” उनले भने ।

२०१६ मा युभेन्टसबाट फर्किएका पोग्बाको युनाइटेडमा करिअर त्यति राम्रो हुन सकेको छैन । पछिल्लो पटक फ्रान्सबाट खेल्दा उनले रियल म्याड्रिडबाट खेल्नु आफ्नो सपना रहेको बताएका थिए ।

Click to comment

Trending