IPL

धवनको अर्धशतकमा दिल्लीको विशाल योगफल, इतिहास रच्न हैदराबादलाई १८९ रन भित्र रोक्न पर्ने

Published

on

शिखर धवनको अर्धशतक तथा मार्कस स्टोइनिस र शिम्रोन हेटमायरको आक्रमक ब्याटिङमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिगको दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादलाई १९० रनको विशाल लक्ष्य दिएको छ ।

शेख जायद रंगशाला, अबुधबीमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १८९ रन बनायो ।

दिल्लीको लागि आज ओपनिङमा आएका मार्कस स्टोइनिस र धवनले पहिलो विकेटका लागि आठ दशमलब दुई ओभरमा ८६ रनको साझेदारी गर्दै आक्रमक सुरुवात दिए । २७ बल खेल्दै ३८ रन बनाएका स्टोइनिस रशिद खानको बलमा आउट भए । त्यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान श्रेयस ऐयरले पनि २० बलमा २१ रनको पारी खेल्दै पेभेलियन फर्किए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका शिम्रोन हेटमायरले धवनसँग मिलेर तेश्रो विकेटको लागि २८ बलमा ५२ रनको साझेदारी गरे । ५० बलको सामना गरेका धवन छ चौका र दुई छक्काको मद्धतमा ७८ रन बनाएर सन्दिप शर्माको बलमा एलबीडब्लुको धरापमा परे । २२ बलमा चार र एक छक्का सहित ४२ रन बनाएका हेटमायर र दुई रन बनाएका रिशब पन्त अविजित रहे ।

आजको खेलमा दिल्लीले दुई परिवर्तन गरेको छ । आजको खेल दिल्लीले शिम्रोन हेटमायर र सौरभ दुबेलाई आफ्नो टोलीमा समावेस गरेको छ । यसको मतलब आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने मौका पाएनन् । यस सिजन सन्दिपले समुह चरणका १४ खेल र पहिलो क्वालिफायरमा पनि बेञ्चमा नै बिताएका थिए । हैदराबादले भने आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेस गर्नेछ र मंगलबार हुने फाइनल खेलमा मुम्बई इन्डियनको सामना गर्नेछ । यस अघि भएको पहिलो क्वालिफायरमा दिल्ली माथि जित दर्ता गराउँदै मुम्बईले सिधै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित भए पछि दोश्रो क्वालिफायरमा पुगेको हो भने हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोर माथि छ विकेटको जित दर्ता गर्दै फाइनल प्रवेसका लागि दिल्लीको सामना गर्न लागेको हो ।

समुह चरणको खेल पछि दिल्लीले १६ अंकका साथ दोश्रो हुँदै अन्तिम चारमा प्रवेस गरेको थियो भने हैदराबादले १४ अंकका साथ तेश्रो हुँदै अन्तिम चारमा पुगेको थियो ।

हैदराबादले यस अघि दुई पटक फाइनल खेल्दा सन् २०१६ मा बेंगलोरलाई आठ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको थियो भने सन् २०१८ मा चेन्नाई सुपर किंग्ससँग आठ विकेटले पराजित हुँदा उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन भने गत संस्करणमा रहेको थियो । गत संस्करणमा पनि दोश्रो क्वालिफायरमा पराजित हुँदा दिल्ली तेश्रो स्थानमा खुम्चिन पुगेको थियो ।

हाल सम्म दिल्ली र हैदराबाद १७ पटक एक आपसमा भिड्दा हैदराबादले ११ तथा दिल्लीले छ खेलमा जित हात पारेका छन् । यस अघि पहिलो लेगमा हैदराबादसँग १५ रनले पराजित भएको दिल्लीले दोश्रो लेगमा ८८ रनको लज्जास्पद हारको सामना गरेको थियो ।

Click to comment

Trending