IPL

फाइनल प्रवेसका लागि दिल्ली र हैदराबाद भिड्दै, के दिल्लीले इतिहास रच्न सक्ला ?

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिगको दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । शेख जायद रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार अहिले साँझ ७:४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेस गर्नेछ र मंगलबार हुने फाइनल खेलमा मुम्बई इन्डियनको सामना गर्नेछ । यस अघि भएको पहिलो क्वालिफायरमा दिल्ली माथि जित दर्ता गराउँदै मुम्बईले सिधै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित भए पछि दोश्रो क्वालिफायरमा पुगेको हो भने हैदराबाद रोयल च्यालेन्जर्स बेंगलोर माथि छ विकेटको जित दर्ता गर्दै फाइनल प्रवेसका लागि दिल्लीको सामना गर्न लागेको हो ।

समुह चरणको खेल पछि दिल्लीले १६ अंकका साथ दोश्रो हुँदै अन्तिम चारमा प्रवेस गरेको थियो भने हैदराबादले १४ अंकका साथ तेश्रो हुँदै अन्तिम चारमा पुगेको थियो ।

हैदराबादले यस अघि दुई पटक फाइनल खेल्दा सन् २०१६ मा बेंगलोरलाई आठ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको थियो भने सन् २०१८ मा चेन्नाई सुपर किंग्ससँग आठ विकेटले पराजित हुँदा उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । दिल्लीको सबैभन्दा राम्रो प्रदर्शन भने गत संस्करणमा रहेको थियो । गत संस्करणमा पनि दोश्रो क्वालिफायरमा पराजित हुँदा दिल्ली तेश्रो स्थानमा खुम्चिन पुगेको थियो ।

हाल सम्म दिल्ली र हैदराबाद १७ पटक एक आपसमा भिड्दा हैदराबादले ११ तथा दिल्लीले छ खेलमा जित हात पारेका छन् । यस अघि पहिलो लेगमा हैदराबादसँग १५ रनले पराजित भएको दिल्लीले दोश्रो लेगमा ८८ रनको लज्जास्पद हारको सामना गरेको थियो ।

 

सन्दिपको सम्भावना कस्तो ?

नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले यस सिजनका अघिल्ला १५ खेल सबैमा बेञ्चमा नै बिताए ।

आईपीएल अघि सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा सन्दिपले गरेको प्रदर्शनको आधारमा उनले सजिलै सुरुवाती ११ मा स्थान बनाउने आशा रहेको भए पनि सन्दिपले कुनै पनि खेलमा खेल्ने मौका पाउन सकेनन् ।

सुरुवाती चरणमा गरेको प्रदर्शनका आधारमा दिल्लीले सजिलै प्ले-अफमा स्थान बनाउने देखिए पनि पछिल्ला खेलहरुमा पराजित हुन पुग्दा दिल्लीले अन्तिम चारमा पुग्नका लागि अन्तिम खेल सम्म कुर्न पर्यो । जसको असर सन्दिपलाई परेको थियो । सायद दिल्लीले सजिलै प्ले-अफमा स्थान सुरक्षित गरेको भए सन्दिपले सुरुवाती ११ मौका पाउन सक्ने सम्भावना रहेको थियो ।

आजको खेलमा पनि सन्दिपले सुरुवाती ११ मा स्थान बनाउन कठिन नै देखिन्छ । दिल्लीले दुई तिब्र गतिका बलरहरु कागिसो रबाडा र एनरिच नोर्ट्जेलाई तथा अलराउण्डर मार्कस स्टोइनिसलाई खेलाउने पक्का छ । अब बिदेशी खेलाडीको एक कोटाको लागि सन्दिपले शिम्रोन हेटमायरसँग प्रतिस्पर्धा गर्न पर्ने देखिन्छ । दिल्लीले यस अघिका खेलमा तिब्र गतिका बलर ड्यानियल साम्सलाई टोलीमा स्थान दिएको थियो तर उनको प्रदर्शन निकै खराब रहेको थियो ।

दिल्लीले पछिल्ला खेलहरुमा ब्याटिङमा चित्त बुझ्दो प्रदर्शन गर्न सकेको छैन । जसका कारण उसले हेटमायरलाई खेलाउने प्रवल सम्भावना रहेको छ । त्यसैले पनि सन्दिपले खेल्ने सम्भावना निकै कम रहेको छ ।

दिल्लीले फाइनल प्रवेस गर्न कुनै पनि कसर बाँकी नराख्ने हिसाबले अझै पनि सन्दिपलाई तुरुपको एक्का रुपमा प्रयोग गर्दा फाइदा नै पुग्ने देखिन्छ ।

Click to comment

Trending