Headline

युरोपियन राउण्ड–अपः एट्लेटिको स्पेनमा शिर्ष स्थानमा, पेद्रोद्वारा ५२ बर्ष पुरानो किर्तिमान बराबर

Published

on

रियल म्याड्रिडलाई स्तब्ध पारेको काडिजलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबारको खेलमा पोर्चुगिज स्ट्राइकर जाओ फेलिक्सले अर्को आकर्षक खेल पस्कदै दुई गोल गरेपछि एट्लेटिकोले गोल अन्तरको आधारमा रियल सोसिडाडलाई अंक तालिकामा पछि पारेको हो । लुईस सुवारेज र मार्कोस लोरेन्तेले पनि एक–एक गोल गर्दा एट्लेटिको ला लिगामा आफ्नो पराजित यात्रालाई पनि कायमै राख्न सफल भएको छ ।

लिगको पहिलो सात खेलमा उसले पाँचमा जित हात पारेको छ भने दुईमा बराबरी गरेको छ । यो सिजनको ला लिगाको प्रमुख दाबेदारको रुपमा अघि आएको एट्लेटिकोले यस क्रममा १७ गोल गरेको छ भने मात्र दुई गोल गर्न दिएको छ ।

अन्तर्राष्ट्रिय बिश्रामपछिको आफ्नो पहिलो खेलमा एट्लेटिकोले अब बार्सिलोनाको सामना गर्नेछ जहा सुवारेज र एन्टोइन ग्रिजम्यानले आफ्नो पुरानो क्लबबिरुद्ध खेल्नेछन् । एट्लेटिको आए यता निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका सुवारेजले पाँच गोल गरिसकेका छन् भने ग्रिजम्यान अझै पनि मेस्सीकै छायामा छन् ।

शनिबारनै रियल बेटिसबिरुद्ध मेस्सीलाई प्रशिक्षक रोनाल्डक कोमनले शुरुमा बेञ्चमा राखेपनि उनी आएपछि बार्सिलोनाले ५–२ को जित हात पार्यो । औस्माने डेम्बेलेको २२ औं मिनेटको गोलको जवाफमा एन्टोनियो सानाब्राले बराबरी गरेपछि खेलमा सन्तुलन कायम रहेको थियो ।

अन्सु फातीको स्थानमा आएलगत्तै मेस्सीको संलग्नतामा ग्रिजमनले बार्सालाई अग्रता दिलाए भने त्यसपछि अर्जेन्टाइन स्ट्राइकरले थप दुई गोल गरेका थिए । अर्को गोल पेद्रीले गरे । बेटिसका लागि लोरेन मोरेनले अर्को गोल गोल गरेका थिए ।

जाओ पेद्रोको किर्तिमान

इटालियन सिरी आ मा काग्लियरीका जाओ पेद्रोले इटाली लेजेण्ड जिजि रेभाले कायम गरेको ५२ बर्ष पुरानो किर्तिमानको बराबरी गरेका छन् । शनिबार १० खेलाडीमा सिमित भएको साम्प्डोरियालाई २–० ले पराजित गर्ने क्रममा पेद्रोले लगातार पाँच खेलमा गोल गर्ने क्लब किर्तिमानको बराबरी गरेका हुन् ।

रेभाले १९६८ मा काग्लियरीका लागि उक्त किर्तिमान बनाएका थिए । इटालीका किर्तिमानी अन्तर्राष्ट्रिय गोलकर्ता रेभाले १९७० मा काग्लियरीलाई इतिहासकै पहिलो र हालसम्मको एक मात्र इटालियन सिरी आ उपाधि जिताएका थिए । उनले इटालीका लागि ४२ खेलमा ३५ गोल गरेका थिए भने काग्लियरीका लागि ३ सय १५ लिग खेलमा १ सय ६४ ।

सिरी आ कै अर्को खेलमा स्पेजियाले बेनेभेन्तोलाई ३–० ले पराजित गर्यो ।

डि मारियाको दुई गोल

डिफेन्डिङ्ग च्याम्पियन पेरिस सेन्ट जर्माइनलाई फ्रेञ्च लिग वानको शिर्ष स्थानमा चार अंकको अग्रता दिने क्रममा अर्जेन्टाइन एन्जेल डि मारियाले दुई गोल गरेका छन् । शनिबार पिएसजीले रेनेसलाई ३–० ले हरायो ।

खेलको ११ औं मिनेटमै मोइजे किनको गोलबाट अग्रता लिएपछि पिएसजीका लागि डि मारियाले २१ औं र ७३ औं मिनेटमा गोल गरेका थिए । १० खेलपछि पिएसजी २४ अंकसाथ शिर्ष स्थानमा कायम रहेको छ । दोश्रो स्थानको लिलेको ९ खेलबाट १९ अंक रहेको छ भने रेनेसको १८ अंक छ ।

Click to comment

Trending