IPL

दिल्लीको लज्जास्पद हार, मुम्बई छैठौं पटक आईपीएलको फाइनलमा

Published

on

तिब्र गतिका बलरद्वय जस्प्रित बुम्रा र ट्रेन्ट बोल्टले घातक बलिङ गरे पछि साबिक विजेता मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्स माथि ५७ रनको फराकिलो जित हात पार्दै १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेस गरेको छ ।

यस अघि सर्वाधिक चार पटक आईपीएलको उपाधि चुमेको मुम्बई छैठौं पटक फाइनलमा प्रवेस गरेको हो । आजको हार पछि दिल्लीले भोली हुने रोयल च्यालेन्जर्स बेंगलोर र सनराईजर्स हैदराबाद बीच हुने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेसका लागि प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि २०१ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको दिल्लीले खराब सुरुवातका बाबजुद पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४३ रन मात्र बनाउन सक्यो ।

दिल्लीको तर्फबाट मार्कस स्टोइनिसले ४६ बल खेल्दै सर्वाधिक ६५ रन तथा अक्सर पटेलले ३३ बलमा ४२ रनको पारी खेले भने कागिसो रबाडाले पनि अविजित १५ रनको पारी खेले ।

ठुलो लक्ष्य सहित ब्याटिङमा आएको दिल्लीले निकै नै खराब सुरुवात गर्यो । दोश्रो ओभरको दोश्रो बलमा आफ्नो तेश्रो विकेट गुमाउँदा दिल्लीले स्कोर बोर्डमा एक रन पनि जोड्न सकेको थिएन । उसका ओपनरद्वय पृथ्वी श र शिखर धवन तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्य रहानेले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।

कप्तान श्रेयस ऐयर १२, विकेट किपर रिशब पन्त तीन, ड्यानियल स्याम्स शुन्य रनमा पेभेलियन फर्किए ।

दिल्लीको पारी ध्वस्त पार्ने क्रममा जस्प्रित बुम्राले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १४ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने ट्रेन्ट बोल्टले दुई ओभरमा नौं रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका सुर्य कुमार यादव र इशान किशानको अर्धशतक तथा हार्दिक पान्ड्याको विस्फोटक पारी खेले पछि २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०० रन बनायो ।

मुम्बईको तर्फबाट इशान किशानले अविजित रहँदै सर्वाधिक ५५, सुर्य कुमार यादवले ५१, ओपनर क्विनटन डि ककले ४० तथा हार्दिक पान्ड्या आक्रमक ३७ रनको पारी खेले ।

कप्तान रोहित शर्मा गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरेको मुम्बईको लागि यादव र डि ककले दोश्रो विकेटको लागि ३७ बलमा ६२ रनको आक्रमक साझेदारी गरे । २५ बलको सामना गर्दै पाँच चौका र एक छक्का प्रहार गरेका डि कक रविचन्द्रन अश्विनको शिकार भए ।

डि कक आउट भए लगत्तै जस्तो यादव पनि ३८ बल खेल्दै छ चौका र दुई छक्का प्रहार गरेर पेभेलियन फर्किए भने काइरन पोलार्ड पनि दुई बल खेल्दै शुन्य रनमा आउट हुन पुगे । कुर्नाल पान्ड्याले पनि १३ रन भन्दा जोड्न सकेनन् ।

१४० रनमा पाँच विकेट गुमाएको मुम्बईको लागि हार्दिक पान्ड्या र इशान किशानले अन्तिम २३ बलमा ६० रन जोड्दै २०० को विशाल स्कोर सम्म पुर्याए । किशानले ३० चार चौका र तीन छक्का प्रहार गरे भने पान्ड्याले १४ बलमा पाँच छक्का प्रहार गरे ।

दिल्लीका अश्विनले चार ओभरमा २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने मार्कस स्टोइनिस र एनरिच नोर्ट्जेले पनि समान १-१ विकेट हात पारे ।

समुह चरणको दुबै खेलमा पनि मुम्बईले दिल्लीलाई पराजित गरेको थियो । पहिलो लेगमा पाँच विकेटले पराजित भएको दिल्लीले दोश्रो लेगमा नौं विकेटको लज्जास्पद हारको सामना गरेको थियो ।

Click to comment

Trending