IPL

मुम्बई माथि १० विकेटको फराकिलो जित हात पार्दै हैदराबाद अन्तिम चारमा

Published

on

मुम्बई इन्डियन्स माथि १० विकेटको फराकिलो जित हात पार्दै सनराईजर्स हैदराबादले १३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । हैदराबादले अब पहिलो एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।

आजको खेलमा जित निकाले पछि हैदराबाद अंक तालिकाको तेश्रो स्थानमा उक्लंदै अन्तिम चारमा प्रवेस पाएको हो । हैदराबादको जित पछि कोलकाता नाइट राईडर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि १५० रनको मध्यम लक्ष्य लिएर ब्याटिङमा आएको हैदराबादले १७ दशमलब एक ओभर खेल्दै कुनै पनि विकेट नगुमाइ लक्ष्य पार गरेको हो ।

हैदराबादको जितमा कप्तान डेभिड वार्नरले सर्वाधिक ८५ रन बनाए भने रिद्दीमन शाहले पनि ५८ रनको पारी खेले । अविजित रहेका उनीहरुले क्रमश ५८ बलमा १० चौका र एक छक्का तथा ४५ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यस अघि हैदराबादका बलरहरु हाबी हुँदा शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४९ रन मात्र बनाउन सक्यो ।

मुम्बईको तर्फबाट काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका पोलार्डले अन्तिम ओभरमा आउट हुनु अघि २५ बलको सामना गर्दै दुई चौका र चार छक्का प्रहार गरे । मुम्बईका अन्य ब्याट्सम्यानहरुमा सुर्य कुमार यादव ३६, इशान किशान ३३ र ओपनर क्विन्टन डि कक २५ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुम्बईलाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दिप शर्माले सर्वाधिक सर्वाधिक तीन विकेट लिए भने जेसन होल्डर र शहबाज नदिमले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

मुम्बई यस अघि नै क्वालीफायर्समा पुगी सकेको छ र उसले फाइनल प्रवेसका लागि दिल्ली क्यापपिटल्सको सामना गर्नेछ । त्यस्तै हिजो सम्पन्न खेलमा दिल्लीसँग छ विकेटले पराजित भए पनि रोयल च्यालेन्जर्स बेंगलोरले अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको थियो । आजको खेलमा हैदराबादले जित हात पार्दा बेंगलोर अंक तालिकाको चौथों स्थानमा झरेको छ ।

यस अघि सम्पन्न पहिलो लेगमा भने मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको नोक्सानीमा २०८ रन बनायो भने जवाफी ब्याटिङ गरेको हैदराबादले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १७४ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending