Headline

बायर्नका इन्जिन जोशुवा किमिच

Published

on

बास्चियन स्वेन्सटाइगरलाई आफ्नो आदर्शको रुपमा लिने गरेका जोशुवा किमिच बायर्न म्युनिखले युएफा च्याम्पियन्स लिग जित्दा मुख्य भुमिकामा रहेका थिए ।

राइट ब्याकबाट आफ्नो करिअर शुरु गरेका किमिच अहिले डिफेन्सिभ मिडफिल्डरमा यति पोख्त भैसकेका छन् कि कुनै खेलाडीले उनलाई कटाउदै बायर्नको डि बक्समा बल पुर्याउनु सहज नै हुदैन । उनी आफ्नो टोलीलाई बल पोजेसन राख्नदेखि काउन्टर अट्याक शुरु गर्न समेत माहिर छन् ।

बुन्डेसलिगामा शनिबार कोलोनका मिडफिल्डर एलिस स्खिरीसँग बल खोस्दै सर्जी नाब्रीलाई असिस्ट दिएका किमिचले नै बायर्नलाई २–१ को जित दिलाउन उल्लेखनीय भुमिका निर्वाह गरे । यो जितपछि बायर्नले लिगमा शिर्ष स्थान पनि कब्जो गर्यो ।

च्याम्पियन्स लिगमा पनि लोकोमोटिभ मस्को विरुद्धको खेलमा १–१ को बराबरी खेलिरहेको अवस्थामा किमिच आफैले गोल गर्दै बायर्नलाई २–१ को जित दिलाएका थिए । यदि बायर्नले कुनै खेल मिडफिल्डलाई केन्द्रमा राखेर खेल्छ भने त्यसको इञ्जिन जोशुवा किमिच नै हुने गरेका छन् ।

“उनी बिशेष मानसिकता लिएर खेल्ने गर्छन् । हाम्रो खेललाई अझै उच्च स्तरको बनाउछन्,” किमिचले गत सेप्टेम्बरमा भएको जर्मन कपको फाइनलमा बोरुसिया डर्ट्मण्डलाई हराउदा निर्णायक गोल गरे पछि टोलीका प्रशिक्षक हान्सी फ्लिकले भनेका थिए ।

२५ बर्षिय किमिच केही समय अघि दुई बच्चाका बुवा पनि भएका थिए । किमिच जर्मनीमा यति प्रख्यात छन् कि उनको मैनको मुर्तीलाई बर्लिनको म्याडम टुसेडमा अर्को बर्ष राखिने भएको छ ।

जति नै निर्दोष देखिए पनि उनले खेलमा देखाउने जोश र चिच्याउदै बायर्नको खेल नियन्त्रण गर्न सक्ने काबिलियतले उनको स्थान टोलीमा बिशेष रहदै आएको छ । किमिच बायर्नका लागि यति महत्वपूर्ण छन् कि प्रशिक्षक फ्लिकले उनलाई बेन्चमा राख्न दुई पटक सोच्नु पर्ने हुन्छ । “म उनी रिसाउने अपेक्षा गर्ने गर्छु । उनी जहिले पनि मैदानमै देखिन चाहन्छन्, फ्लिकले भने ।

तर फ्लिक मात्र यस्ता प्रशिक्षक होइनन् जस्ले किमिचलाई उत्कृष्ट मान्ने गर्छन् ।

विश्वका उत्कृष्ट प्रशिक्षकहरु पेप ग्वार्डियोला र होजे माउरिन्होले पनि किमिचको बारेमा धेरै राम्रो कुराहरु बोलेका छन् । अझ टोटनह्यामका प्रशिक्षक मोउरिन्होले किमिच फुटबलको मैदानमा जुन सुकै स्थानमा खेल्न सक्ने खेलाडी भएको पनि बताउने गर्थे ।

“मलाई उनी राइट–ब्याक, लेस्ट–ब्याक, डिफेन्सिभ मिडफिल्ड, अट्याकिङ मिडफिल्ड र विङ सबै स्थानमा खेल्न सक्ने खेलाडी हुन जस्तो लाग्छ,” माउरिन्होले भनेका थिए । “उनी निकै बुद्धिमान खेलाडी हुन । उनलाई मैदान भित्र के गर्नु पर्छ भनिराख्नु पर्दैन ।”

किमिच जर्मनीकै अर्को क्लब स्टुटगार्ट युथ एकेडेमीका खेलाडी थिए । २०१५ मा आरबी लाइपजिगबाट उनलाई बायर्नले भित्र्याउन खोज्दा उनका एजेन्टलाई त्यो कुरा ठट्टा जस्तो लागेको थियो रे ।

२०१५ मा बायर्न गएपछि आफूलाई किन लेराइएको भनेर प्रश्न गर्दा तत्कालीन बायर्न प्रशिक्षक ग्वार्डियोलाले आफूलाई मन परेर भित्र्याएको भनेका थिए । “मलाई यो केटा एकदम मन पर्छ । उसले जे पनि गर्न सक्छ, जुन स्थानमा पनि खेल्न सक्छ,” ग्वार्डियोलाले भनेका थिए ।

शायद ग्वार्डियोलाले जर्मनीमा बिताएको तीन बर्षको कार्यकलमा बायर्नलाई तीन बुन्डेसलिगा जिताउनु बाहेक लगाएको सबै भन्दा ठुलो गुन किमिचलाई क्लब भित्र्याउनु नै हुनुपर्छ ।

च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई ८–२ को कहिले नभुल्ने हार दिएको खेलमा किमिचले टोलीको मिडफिल्डलाई ’सिङल इन्जिन’को रुपमा चलाएका थिए ।

Click to comment

Trending