Headline

ढल्कदो उमेर ? के हो त्यो ? ज्लाटनको अर्को उत्कृष्ट गोलमा मिलान बिजयी

Published

on

स्विडिस स्टार ज्लाटन इब्राहिमोभिच अहिले ३९ बर्षका भए । प्रतिस्पर्धात्मक फुटबलका लागि यो उमेर उपयुक्त होइन । तर ज्लाटन त बिश्वकै कठिन लिग मध्येको एक खेलिरहेका छन् । र लगातार गोल पनि गरिरहेका छन् ।

आइतबार ज्लाटनले अर्को गोल गरे र उक्त गोलको मद्दतमै एसि मिलानलाई महत्वपूर्ण जित दिलाए । इटालियन सिरी आ मा मिलान युडिनेजीलाई २–१ ले पराजित गर्दै लिगको अग्र स्थानमा कायमै रह्यो । मिलानले यो सिजन ६ मध्ये पाँच खेल जितिसकेको छ र त्यसमा ज्लाटनले चार खेल खेलेका छन् ।

उनले ७ गोल गरिसकेका छन् । गत सिजनको मध्यतिर आएका ज्लाटनले मिलानमा आफ्नो दोश्रो स्पेलमा २२ खेल खेल्दै १७ गोल गरिसकेका छन् ।

कुङफु किक प्रहार गर्दै थुप्रै गोल गरेर अत्याधिक रुचाइएका ज्लाटनको आइतबारको गोल अझै बिशेष थियो । त्यो गोलले उनको उमेरलाई ढाटेको थियो । युडिनेजीको डि बक्समा दुई डिफेण्डर, रोद्रिगो बेकाओ र सेबास्चियन डि मेयोकोबीचमा च्यापिएका ज्लाटनले उत्कृष्ट ढँगले बाइसाइकल किक प्रहार गर्दै गोलकिपर हुवा मासोलाई समेत बिट गर्दै गोल गरे ।

यो ज्लाटनको धेरै मध्येको उत्कृष्ट एक्रोब्याटिक गोल थियो । खेलमा फ्रांक केस्सीले १८ औं मिनेटमा मिलानलाई अग्रता दिलाए पनि दोश्रो हाफ शुरु भएको तीन मिनेट पछि नै रोद्रिगो डि पउलले युडिनेजीको लागि बराबरी गोल गरेका थिए ।

मिलानलाई त्यसपछि जितका लागि आफ्नो बुढो बाघ नै आवश्यक पर्यो । “मेरो गोल राम्रो थियो तर जितले बढी महत्व राख्छ,” ज्लाटनले भने । “हामी युरोपमा सबैभन्दा युवा टोलीमध्येको एक हौं । मैले टिमकोे औषत आयु बढाएके दोष आफ्नो नाममा लिन्छु तर हाम्रो केटाहरुले मलाई निकै जवान महसुस गराइदिने गरेका छन् ।”

Click to comment

Trending