Headline

फर डिएगोः इटालीमा म्याराडोनालाई समर्पण दिने क्रम ओइरदा नापोलीको बिशेष जित

Published

on

एएस रोमामाथि ४–० को फराकिलो जित रच्दै नापोलीले आफ्ना पुर्व लेजेण्ड खेलाडी डिएगो म्याराडोनालाई बिशेष सम्मान दिएको छ । गत बुधबार म्याराडोनाको निधनपछि नापोलीले पहिलो इटालियन सिरी आ खेल खेलेको थियो ।

म्याराडोनाले निकै कमजोर नापोलीलाई दुई पटक सिरी आ र एक पटक युएफा कप (अहिलेको च्याम्पियन्स लिग) जिताएका थिए । उनी नापोलीमा भगवान सरह पुजिने गरिएका छन् ।

“म लगायत टिमका सम्पूर्ण सदस्यहरुले अतिरिक्त उर्जाका साथ खेलेका थिए । हामीले हाम्रो आइडललाई गुमाएको छौं र यसले निकै चोट पुर्याएको छ,” नापोली कप्तान लोरेन्जो इन्सिग्नेले भने । “डिएगोको लागि, र उनलाई गुमाएर बिक्षिप्त भएको नापोली शहरको लागि हामी साधारण परिणाम भन्दा अलि बढी चाहन्थ्यौं । हामी यो जित उनलाई समर्पण गर्छौ ।”

जितपछि नापोलीको रोमा र युभेन्टससँगै समान १७ अंक भएको छ । अंक तालिकामा युभेन्टस चौथो र नापोली पाचौं स्थानमा रहेका छन् । फियोरेन्टिनालाई २–० ले पराजित गरेको एसि मिलान २३ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने दोश्रोमा इन्टर मिलान (१८) र तेश्रोमा सासुलो (१८) रहेका छन् ।

आइतबार निकै नै भावनात्मक दृश्यमा इन्सिग्नेले स्टेडियमको दुवै भागमा राखिएको म्याराडोनाको नामको ब्यानरमुनि फुलको गुच्छा अर्पण गरेका थिए । नापोलीको सान पाओलो स्टेटियमा अब स्टाडियो डिएगो अर्मान्डो म्याराडोना हुने भइसकेको छ ।

यो सप्ताहन्त सिरी आ मा भएका सबै खेलहरु म्याराडोनालाई समर्पण गरिएको छ । म्याराडोनाको नाममा एक मिनेटको मौन धारण गरिएको थियो भने खेलको १० औं मिनेटमा स्टेडियमको ठूलो स्क्रिनमा उनको तस्विर देखाइदा सबै खेलाडीहरुले रोकिएर ताली बजाउदै उनलाई सम्मान दिएका थिए ।

Click to comment

Trending