Headline

‘स्वार्थी’ वा ‘खेलाडीहरूको सुरक्षा’? क्लोपको गुनासोले प्रशिक्षकहरु विभाजित

Published

on

आफ्ना चोटग्रस्त खेलाडीहरुको सुची लामो बन्दै गएपछि लिभरपुल व्यवस्थापक योर्गन क्लोपलाई फुटबल अधिकारीहरू र प्रसारकहरू विरुद्ध बोल्न वाध्य बनायो । क्लोप खेलाडीहरुको सुरक्षामा आवाज उठाएको बताउदै आएका छन् ।

मँगलबार हुने च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्धको खेलमा लिभरपुल भर्जिल भान डाइक, जो गोमेज, एलेक्स अक्स्लेड च्याम्बरलिन, थियागो अल्कान्टरा, नाबी केइटा, शेर्धन साकीरी, ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड र जेम्स मिल्नरको अनुपस्थितिमा मैदानमा उत्रने छ । यी सबै लिभरपुलको शुरुवाती ११ मा स्थान पाउने खेलाडीहरु हुन् ।

अघिल्लो साता च्याम्पियन्स लिगमा एट्लान्टासँग पराजित भएको ६० घण्टा पनि नबित्दै शनिबार दिउसो एक बजे ब्राइटनसँग खेलेको लिभरपुल १–१ को बराबरीमा रोकिएको थियो । ब्यस्त तालिकालाई लिएर क्लोप निकै क्रुद्ध बनेका छन् ।

“बुधबार खेलेपछि शनिबार पहिलो नै खेल खेल्नु खेलाडीहरुका लागि निकै घातक हो,” क्लोपले भने । जेम्स मिल्नर दोस्रो हाफमा घाइते भएपछि क्लोपले इङ्गलिस टिभी च्यानल बिटी स्पोर्ट्सका रिपोर्टरलाई कटाक्ष प्रहार गर्दै बधाई पनि दिए ।

ब्यस्ता तालिकाले खेलाडीहरुको प्रदर्शनमा पारेको प्रभावका बिषयमा बोल्ने उनी एक्लो व्यक्ति भने होइनन् । यसअघि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पनि यो बिषयमा आवाज उठाउदै आएका छन् । उनीहरुले पनि वुधबार च्याम्पियन्स लिग खेल्दै शनिबार खेल राख्नु गलत भएको प्रिमियर लिगलाई भन्दै आएका छन् ।

युनाइटेड व्यवस्थापक ओले गनर सोल्सायरले पनि अघिल्लो महिना इस्तान्बुल बसिकशेहरसँग खेल्दै टर्कीबाट फर्किएको ४८ घण्टा बित्न नपाउदै एभर्टनसँग खेल्नु परेकोमा दुःख व्यक्त गरेका थिए । सिटीका पेप ग्वार्डियोलाले पनि खेलाडीहरुको प्रदर्शन खस्किने भएकाले पाँच खेलाडी सब्स्टिच्युसनको नियम ल्याउन आग्रह गरे ।

“संसारभर पाँच सब्स्टिच्युसन नियम छ । हामीलाई यो लिग चाँही छुट्टै जस्तो लागिरहेको छ र त्यो नियम लागु गरिरहेको छैनौं । खेलाडीहरुको सुरक्षामा हामीले चासो नदिएको स्पष्ट छ,” ग्वार्डियोलाले भनेका थिए ।

“हामीले अहिले खेल भन्दा पनि खेलाडीको चोटको चिन्ता लिनु पर्ने अवस्था छ । परिस्थिती पहिलो जस्तो छैन,” आफ्नो टोलीको प्रदर्शनमा नकारात्मक प्रभाव परिरहदा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले अघिल्लो साता भने ।

उत्साह गुमेको फुटबल

कोरोना भाईरसका कारण तीन महिना रोकिएर शुरु भएको इङ्गलिस फुटबलका कुनै पनि लिगले खेलाडीलाई सहज बनाउने तालिका बनाउन नसकेको स्पष्ट छ । घरेलु कप र प्रिमियर लिगका सबै ३८ खेल सहित युरोपियन लिग र दुई अन्तर्राष्ट्रिय बिश्राम गरी खेलाडीहरुले कमै मात्र खाली समय पाउने गर्छन् ।

ग्वार्डियोलाले बारम्बार प्रिमियर लिगले जाडोको सिजनमा पनि फुटबल सञ्चालन गरिने बिषयमा आलोचना गर्दै आइरहेका छन् । अन्य प्रमुख लिगहरूले प्रशंसकहरूको लागि गुणस्तरको खेलहरू हेर्न पाउन भन्दै मध्य जाडोमा बिश्राम लिदै गर्दा प्रिमियर लिगमा भने ’बक्सिङ डे’ गर्ने गरेको भन्दै उनले आलोचना गरेका थिए ।

उनले यो सिजन समर्थक नभएका कारण आफुले यो बिषयमा बोल्न नमिलेको बताउँदै आएका छन् । “खेलाडीहरुले खेलका लागि देखाउदै आएको उत्साह हराउन थालेको छ । पहिले समर्थकहरु हुँदा हप्ताको दुई खेल खेल्न ठिकै हुन्थ्यो तर अहिले हामी तीन र घरेलु लिग सहित चार खेल खेल्नु पर्ने अवस्था छ,” ग्वार्डियोलाले भने ।

सेफिल्ड युनाइटेडका प्रशिक्षक क्रिस वाइल्डरले भने क्लोपको पाँच सब्स्टिच्युसनको मुद्दाबिरुद्ध गत साता भएको प्रिमियर लिग व्यवस्थापकहरुको बैठकमा खनिएका थिए ।

२० मध्ये १४ क्लबले दोस्रो पटक पाँच सस्टिच्युसनको नियम नल्याउन मतदान गरेका थिए । साना क्लबहरुका अनुसार ठूलो क्लबहरुको टोलीमा खेलाडीहरुको संख्या धेरै हुने भएकाले उनीहरुलाई मात्र फाईदा हुने बताउदै आएका छन् ।

“म ती व्यवस्थापकहरुलाई सलाम गर्न चाहन्छु जसले राम्रो नतिजा निकल्दै हरेक खेल जित्छन् । तर उनीहरु स्वार्थी छन् र आफ्नो क्लबको मात्र सोच्छन् । यदी म पनि ठुलो क्लबको प्रशिक्षक भएको भए त्यही सोच्दथे होला तर यहाँ अवस्था त्यस्तो छैन,” वाइल्डरले थपे ।

यद्दपी पाँच सस्टिच्युसन भएका अन्य लिगहरुमा पनि ठुला टोलीहरुको प्रदर्शन खस्कदो छ । रियल म्याड्रिड र बार्सिलोना जस्ता ठुलो टोलीहरुले पनि अहिले लगतार खेलहरु हारिरहेका छन् । फ्रेन्च क्लब पिएसजीले पनि आफ्नो १२ मध्ये शुरुवाती तीन खेल हारेको थियो । इटालीमा युभेन्टस पनि चौथोमा रहेको छ ।

Click to comment

Trending