Headline

भारतको अर्को हार, अष्ट्रेलियाले जित्यो श्रृंखला

Published

on

भारतलाई दोश्रो एकदिवसीयमा पनि ५१ रनले पराजित गर्दै अष्ट्रेलिया तीन म्याचको एकदिवसीय श्रृंखलामा आफ्नो पक्षमा पारेको छ ।

स्टिभन स्मिथले लगातार दोश्रो शतकसँगै डेविड वार्नर, कप्तान आरोन फिन्च, मार्नस लबुसान र ग्लेन म्याक्सवेलले अद्र्धशतक बनाएपछि अष्ट्रेलियाले तीन विकेटको क्षतिमा ३ सय ८९ रनको बिशाल योगफल खडा गर्यो । यो भारतबिरुद्ध अष्ट्रेलियाको अहिलेसम्मकै ठूलो योगफल हो ।

भारतले जवाफी ब्याटिङ्गमा सन्तोषजनक प्रदर्शन गरेपनि ५० ओभरमा ९ विकेटको क्षतिमा ३३८ रन मात्र बनाउन सक्यो ।

मध्यम शुरुवात गरेको भारतले पहिलो विकेटका लागि ५८ रन जोडेको थियो । शिखर धवन (३०) र उनका ओपनिङ्ग पार्टनर मयंक अगरवाल (२८) दुई रनको अन्तरमा आउट भएपछि कप्तान बिराट कोहलीले इनिङ्गस सम्हालेका थिए ।

उनले श्रेयस ऐयरसँग ९३ रनको साझेदारी गरे भने केएल राहुलसँग चौथो विकेटका लागि ७२ रन जोडे । ऐयर ३६ बलमा ३८ रन बनाउदै आउट भएका थिए । उनले पाँच चौका प्रहार गरे ।

कोहलीलाई एक पटक फेरि जोस हेजलउडले शर्ट बलमा आउट गरेका थिए । हेजलउडको बल पुल गर्ने क्रममा कोहलीलाई मोइजेज हेन्रिकेसले उत्कृष्ट डाइभिङ क्याच लिदै आउट गरेका थिए । ८७ बल खेलेका कोहलीले सात चौका र दुई छक्का हिर्काए । उनी एकदिवसीयमा ४४ औं शतक बनाउनबाट चुकेका हुन् ।

कोहली आउट भएपछि राहुलले हार्दिक पाण्ड्यासँग ६३ रनको साझेदारी गरे तर ठूलो शट खेल्ने चक्करमा एडम जाम्पाको बलमा आउट भए । राहुलले ६६ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । पाण्ड्याले २८ र रविन्द्र जडेजाले २४ रन बनाएका थिए । अष्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिए भने हेजलउड र जाम्पाले दुई–दुई विकेट हात पारे ।

दुई दिनअघि स्मिथ र फिन्चको शतकको मद्दतमा ३ सय ७४ रन बनाएको अष्ट्रेलियाको आइतबारको स्कोर भारतबिरुद्ध अहिले सम्मकै सर्वाधिक योगफल भएको छ ।

पहिला एकदिवसीयमा भारतलाई ६६ रनले पराजित गर्दा पनि उत्कृष्ट ब्याटिङ्ग गर्दै शतक प्रहार गरेका स्मिथले आइतबार त्यो फर्मलाई कायमै राखे । मात्र ६४ बलको सामना गर्दै स्मिथले १०४ रन बनाए । स्मिथले ६२ बलमा शतक पुरा गरेका थिए । उनी लगत्तै अर्को ओभरमा हार्दिक पाण्ड्यलाई चौका प्रहार गरेपछि उनी आउट भएका थिए ।

उनको इनिङ्गसमा १४ चौका र दुई छक्का सामेल थियो । स्मिथको यो ११ औं एकदिवसीय शतक हो । उनको शतकपछि अष्ट्रेलिया अर्को बिशाल स्कोरतर्फ अग्रसर भएको थियो । स्मिथको विकेट पतनपछि मार्नस लबुसान र ग्लेन म्याक्सवेलले चौथो विकेटको लागि ८० रनको महत्वपूर्ण साझेदारी गर्दै अष्ट्रेलियालाई ४ सय रन नजिक पुर्याएका थिए । लबुसानले ६१ ब्लमा ७० रन बनाए भने म्याक्सवेलले २९ बलमै ६३ रनको योगदान दिए । म्याक्सवेलले चार छक्का र चार चौका प्रहार गरे । लबुसानको इनिङ्गसमा पाँच चौका सामेल थियो ।

घरेलु टोलीलाई एकपटक फेरि कप्तान आरोन फिन्च र डेविड वार्नरले शान्दार शुरुवात दिलाएका थिए । २०२० मा चौथो पटक शतकीय साझेदारी गर्ने क्रममा फिन्च र वार्नरले पहिलो विकेका लागि १ सय ४२ रनको साझेदारी गरे ।

पहिलो एकदिवसीयमा १ सय १४ रन बनाएका फिन्च ६० रनमा आउट भए भने वार्नरले ७७ बलमा सात चौका र तीन छक्काको मद्दतमा ८३ रन बनाए । फिन्चको इनिङ्गसमा ६ चौका र एक छक्का सामेल थियो ।

Click to comment

Trending