Headline

फिलिप्सको किर्तीमानी ट्वान्टी ट्वान्टी शतकमा न्युजिल्याण्डलाई श्रृंखला

Published

on

ग्लेन फिलिप्सले न्युजिल्याण्डको लागि सबैभन्दा तिब्र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक पुरा गरेपछि न्युजिल्याण्डले दोश्रो ट्वान्टी ट्वान्टीमा वेष्ट इण्डिजलाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रृंखलामा आफ्नो पक्षमा पारेको छ ।

आफ्नो १३ औं ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ४६ बलमै पहिलो शतक बनाउदै नयाँ किर्तिमान कायम गरेपछि टस हारी पहिलो ब्याटिङ्ग गरेको न्युजिल्याण्डले २० ओभरमा मात्र तीन विकेट गुमाउदै २ सय ३८ रन बनायो । जवाफमा वेष्ट इण्डिजले ९ विकेटको क्षतिमा १ सय ६६ रन मात्र बनाउने सक्यो ।

बिशाल लक्ष्यको दवाबमा शुरुदेखि नै विकेट गुमाएको वेष्ट इण्डिजका लागि सिम्रोन हेट्मायर र काइल मायर्सले तेश्रो विकेटको लागि ३२ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेपनि त्यो पर्याप्त थिएन । कायरोन पोलार्डले मिचेल स्यान्ट्नरलाई लगातार ३ छक्का प्रहार गर्दै केही आशा दिलाएपनि वेष्ट इण्डिज भारी लक्ष्यको दवाबमा परेको थियो ।

पाचौं विकेटका लागि रोभमान पावेलसँग ३५ रनको साझेदारी गरेका पोलार्डले सर्वाधिक २८ रन बनाए । पहिलो ट्वान्टी ट्वान्टी ३७ बलमै ७५ रन ठोकेका पोलार्डले आइतबार १५ बलको सामना गरेका थिए । हेट्मायरले २५ र मायर्सले २० रन बनाए । यस्तै नवौं नम्बरमा ब्याटिङ्ग गर्न आएका किमो पउलले १८ बलमा २६ रन बनाए । उनले तीन छक्का प्रहार गरेका थिए ।

न्युजिल्याण्डका लागि स्यान्ट्नर र कायल जेमिसनले दुई–दुई विकेट लिएका थिए ।

यसअघि ५३ रनमा दुई विकेट गुमाएको न्युजिल्याण्डलाई बिशाल योगफलतर्फ डोर्याउदै फिलिप्सले तेश्रो विकेटका लागि डेभोन कोन्वेसँग १ सय ८४ रनको शान्दार साझेदारी गरेका थिए ।

अन्तिम ओभरको पाचौं बलमा आउट भएका फिलिप्सले ५१ बलको सामना गर्दै १० चौका र ८ छक्को मद्दतमा १ सय ८ रन बनाए । उनले न्युजिल्याण्डका लागि यसअघि कोलिन मुन्रोले बनाएको ४७ बलको शतकको किर्तिमान तोडेका थिए ।

पहिलो ट्वान्टी ट्वान्टीमा पनि न्युजिल्याण्डको जितमा प्रमुख भुमिका खेलेका कोन्वेले ३७ बलमा नटआउट ६५ रन बनाए । कोन्वेले चार चौका र चार छक्का प्रहार गरे । यस्तै ओपनर मार्टिन गप्टिलले पाँच चौका र दुई छक्का सहित २३ बलमा ३४ रन बनाएका थिए । वेष्ट इण्डिजले पहिलो ट्वान्टी ट्वान्टीमा १६ ओभरमै १ सय ८० रन बनाएपनि हारको सामना गरेको थियो ।

Click to comment

Trending