Headline

युरोपियन राउन्ड-अप: शिर्ष स्थानमा रहने डर्ट्मण्डको सपना अधुरो, रियल म्याड्रिड पराजित, युभेन्टस बराबरीमा रोकियो

Published

on

जर्मनी

जर्मन बुन्डेसलिगामा हिजो भएको खेलमा एफ.सी कोलोनसँग २-१ ले पराजित भएसँगै बोरुसिया डर्ट्मण्डको अंक तालिकामा शिर्ष स्थानमा रहने मौका गुमेको छ । इलियास स्खिरीले कोलोनका लागि दुई गोल गर्दै जित दिलाएका थिए भने डर्ट्मण्डका लागि थोर्गन हजार्डले एक गोल गरेका थिए ।

पहिलो हाफको नवौँ मिनेटमै कोलोनले खेलमा अग्रता लिएको थियो । सिक्रीले कोलोनका लागि गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफ १-० को स्थितीमा पछि परेको डर्ट्मण्डके दोस्रो हाफमा अर्को गोल खाएको थियो ।

खेलको ६० औँ मिनेटमा कोलोनका लागि स्खिरीले दोस्रो गोल गरेका थिए । खेलमा फर्किने प्रयास गरे पनि डर्ट्मण्डले भने गोल गर्न सकेन । ७५ औँ मिनेटमा डर्ट्मण्डले एक गोल गरेको थियो । थोर्गन हजार्डले गोल गरे पनि उक्त खेल डर्ट्मण्डले जित्न सकेन ।

हारसँगै डर्ट्मण्ड बुन्डेसलिगामा तेस्रो स्थानमा झरेको छ ।

बायर्न म्युनिखले भने भिएफभी स्टुर्टगार्टलाई ३-१ ले हराउदै २२ अंकका साथ शिर्ष स्थानमा रहेको छ । बायर्नको जितमा किङ्स्ली कोमन,रोबर्ट लेवानडस्की र डग्लस कोस्टाले गोल गरेका थिए । यस्तै आरबी लाइपजिगल पनि अर्मिनियालाई २-१ ले हराउदै दोस्रो स्थानमा उक्लिएको छ ।

ला लिगा

स्पेनिस ला लिगामा भने साविक बिजेता रियल म्याड्रिड अलाभेज सँग २-१ ले पराजित भएको छ । अलाभेजको जितमा लुकास पेरेज र जोसेलुले गोल गरेका थिए भने रियलका लागि एक गोल क्यासेमेरोले गरेका थिए ।

खेलको पाचौँ मिनेटमै पेनाल्टी पाएको अलाभेजका लागि लुकास पिरेजले केही गल्ती नगर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा पनि केही खास गर्न सकेन । ४९ औँं मिनेटमा अलाभेजका लागि जोसेलुले गोल गर्दै खेलमा २-० को अग्रता बनाए पछि रियल म्याड्रिड हारको नजिक पुगेको थियो ।

लगतार मौकाहरु बनाउदा नि गोल गर्न नसकेको रियल म्याड्रिडले ८६ औँ मिनेटमा भने एक गोल गरेको थियो । क्यासिमेरोले एक गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

हारसँगै रियल चौथोँ स्थानमा झरेको छ ।

अर्को खेलमा भने भलेन्सियालाई एट्लेटिको म्याड्रिडले १-० ले हराएको छ । जितसँगै एट्लेटिको २३ अंकका साथ दोस्रो स्थानमा रहेको छ पहिलो स्थानमा रहेको रियल सोसियाडको पनि २३ नै अंक भए पनि एट्लेटिको म्याड्रिड गोलअन्तरका कारण दोस्रो स्थानमा रहेको छ ।

सिरी आ

इटालियन सिरी आ मा भने युभेन्टसले बेनेभेन्टोसँग १-१ को बराबरी खेलेको छ ।

खेलको २१ औँ मिनेटमा युभेन्टसले अग्रता लिएको थियो । युभेन्टसका लागि अल्भारो मोराटाले गोल गरेका थिए तर पहिलो हाफको इन्जुरी समयमा भने बेनेभेन्टोले बराबरी गोल गरेको थियो । बेनेभेन्टोका लागि गेइटानो लेटिजियाले गोल गर्दै खेल १-१ को स्थितीमा पुराएका थिए ।

निकै रोमान्चक बनेको दोस्रो हाफमा युभेन्टसले निकै अट्याक गरेको थियो भने  बेनेभेन्टोले लगतार डिफेन्स गरेको थियो । अन्तिम समय सम्म निकै फाउल खेलेका दुवै टोली बिच केही घम्साघम्सीहरु पनि भएका थिए ।

खेल सकिने बेला पनि त्यही कारण अल्भारो मोराटालाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

यस्तै हिजो भएको खेलमा ससुओलोलाई इन्टर मिलानले ३-० ले हराएको छ ।

सिरी आ मा २० अंक सहित एसी मिलान पहिलो स्थानमा छ भने १८ अंक सहित इन्टर दोस्रो र १७ अंक सहित युभेन्टस पाचौँ स्थानमा रहेको छ ।

 

Click to comment

Trending