Headline

अष्ट्रेलियाको भारतबिरुद्ध फराकिलो जित, कठिन पिचमा जाम्पाको उत्कृष्ट बलिङ्ग

Published

on

अष्ट्रेलिया भारतलाई पहिलो एकदिवसीयमा ६६ रनले पराजित गर्दै तीन म्याचको श्रंखलामा १–० को अग्रता लिएको छ ।

कप्तान आरोन फिन्च र पुर्व कप्तान स्टिभन स्मिथले आकर्षक शतक प्रहार गरेपछि अष्ट्रेलियाले उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहेको सिड्नी क्रिकेट ग्राउण्डमा पहिलो ब्याटिङ्ग गर्दै ६ विकेटको क्षतिमा ३ सय ७५ रनको बिशाल योगफल खडा गर्यो ।

पहिलो चार विकेट १ सय १ रनमै गुमाएपछि दवाबमा आएको भारतलाई ओपनर शिखर धवन र हार्दिक पाण्ड्याले खेलमा कायमै राखे तर दुवै ब्याट्स्म्यान पेभिलियन फर्किएपछि भारत ५० ओभरमा ३०८ रनमै रोक्कियो ।

अष्ट्रेलियाले शुरुवाती ओभरहरुमा त्रुटिपूर्ण बलिङ्ग गर्दा भारतले छरितो शुरुवात पाएको थियो । पहिलो ओभर समाप्त गर्न ११ बल लगाएका मिचेल स्टार्कले २० रन दिएका थिए । आईपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि टिममा स्थान पाएका मयंक अग्रवाल २२ रन बनाउदा जोस हेजलउडको बलमा आउट भए ।

कप्तान विराट कोहलीलाई एडम जाम्पाले स्टार्कको बलमा डिप स्क्वायर लेगमा दुई रनमै ड्रप गरेपनि उनले त्यसको फाइदा उठाउन सकेनन् । कोहली २१ रनमा हेजलउडकै शिकार भए भने उनले त्यही ओभरमा श्रेयस ऐयरलाई पनि पेभिलियन फर्काएका थिए ।

कै एल राहुल (१२) पनि सस्तैमा पेभिलियन फर्किएपछि धवन र पाण्ड्याले शतकीय साझेदारी गर्दै भारतलाई बिशाल लक्ष्यमा झिनो आशा दिलाएका थिए । दुई ब्याट्स्म्यानको १ सय २८ रनको साझेदारीलाई तोड्ने क्रममा जाम्पाले धवनलाई पेभिलियन फर्काएका थिए ।

बलरको लागि कठिन रहेको पिचमा तुलनात्मक रुपमा प्रभावशाली बलिङ्ग गरेका जाम्पाले पाण्ड्याको पनि विकेट लिएका थिए । पाण्ड्याले ७६ बलमा ९० रन बनाउदै सात चौका र चार छक्क प्रहार गरे । १० चौका हिर्काएका धवनले ८६ बलमा ७४ रन बनाए ।

जाम्पाले १० ओभरमा ५४ रन खर्चदै चार विकेट लिए । हेजलउडले उति नै ओभरमा ५५ रन खर्चदै तीन विकेट लिए ।

यसअघि पहिलो १० ओभरमा भारतले खेललाई नियन्त्रणमै राखेपनि अष्ट्रेलियाले बिशाल योगफल खडा गरेको थियो । सम्हालिएर इनिङ्गस शुरु गरेको अष्ट्रेलियालाई डेविड वार्नर र फिन्चले पहिलो विकेटका लागि १ सय ५६ रनको शान्दार शुरुवात दिलाएका थिए । वार्नरले ७६ बलमा ६९ रन बनाए । उनको इनिङ्गसमा ६ चौका सामेल थियो ।

त्यसपछि फिन्चले स्मिथसँग अर्को शतकीय साझेदारी गर्ने क्रममा दोश्रो विकेटका लागि १ सय ८ रन जोडेका थिए । फिन्चले १ सय २४ बलमा ९ चौका र दुई छक्का प्रहार गरे । अष्ट्रेलियाले मार्कस स्टोइनिसलाई शुन्यमै गुमाएपनि स्मिथ र ग्लेन म्याक्सवेलले भारती बलरहरुलाई निराश पारे ।

म्याक्सवेलले १९ बलमै ४५ रन ठोक्दै अष्ट्रेलियाले सोचेभन्दा चाडो ३ सय रन कटाउन सहयोग गरे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । निकै छरितो खेलेका स्मिथ अन्तिम ओभरमा आउट हुनु अघि १ सय ५ रन बनाउदै नवौं एकदिवसीय शतक बनाए ।

मात्र ६६ बलको सामना गरेका स्मिथको इनिङ्गसमा ११ चौका र ४ छक्का सामेल थियो । फिन्चको भने यो १६ औं एकदिवसीय शतक हो । भारतको लागि मोहम्मद सामीले तीन विकेट लिए ।

Click to comment

Trending