Headline

वेष्ट इण्डिजको बिशाल स्कोरका बावजुद न्युजिल्याण्डको सनसनीपूर्ण जित

Published

on

न्युजिल्याण्डले रोमाञ्चक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजलाई पाँच विकेटले पराजित गर्दै श्रंखलामा १–० को अग्रता लिएको छ ।

कायरोन पोलार्डले बिष्फोटक ब्याटिङ्ग गर्दै ३७ बलमै नटआउट ७५ रन बनाएपछि वेष्ट इण्डिजले अकल्याण्डमा बर्षातका कारण १६ ओभरमा छोट्याइएको खेलमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनायो ।

६३ रनमै चार विकेट गुमाएको न्युजिल्याण्ड जितबाट निकै टाढा रहेको स्थितिमा जिमी निसम र डेभोन कोनवेले ७७ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । निसमले १० औं ओभरमा केज्रिक विलियम्सलाई २२ रन प्रहार गरेपछि न्युजिल्याण्डलाई अन्तिम ६ ओभरमा ५८ रन चाहिएको थियो ।

पोलार्डले कोनवेको विकेट त लिए तर न्युजिल्याण्ड जित नजिक पुगिसकेको थियो । किमो पउलले १४ औं ओभरमा बाउन्डरी नदिएपनि चार ओटा नो–बल गर्न पुग्दा १४ रन दिएका थिए । अन्तिम १२ बलमा १५ रन चाहिदा न्युजिल्याण्डले सेल्डन कोट्रेलको १५ औं ओभरमा ११ रन जोड्यो भने पोलार्डले गरेको अन्तिम ओभरको दोश्रो बलमा मिचेल स्यान्टनरले छक्का प्रहार गर्दै जित दिलाए ।

न्ष्ुजिल्याण्डका लागि लकि फर्गुसनले पाँच विकेट लिएका थिए ।

स्यान्टनरले निसमसँग तीन ओभरमा ३९ रनको साझेदारी गर्ने क्रममा १८ बलमा तीन छक्का प्रहार गर्दै ३१ रन बनाए । तीन वटै छक्का प्रहार गरेका निसम २४ बलमा ४८ रन नटआउट रहे । उनले पाँच चौका पनि हिर्काएका थिए ।

यसअघि पहिलो फिल्डिङ्ग गरेको न्युजिल्याण्डले आन्द्रे फ्लेचरले दिएको छिटो छरितो शुरुवातलाई पाखा लगाउदै वेष्ट इण्डिजको ५९ रनमा पाँच विकेट झारेको थियो । तर पोलार्डले आफूलाई किन ट्वान्टी ट्वान्टी संरचनामा उत्कृष्ट ब्याट्स्म्यान भनिएको साबित गरि छाडे । उनले फाबियन एलेनसँग छैटौं विकेटका लागि ८४ रनको सझेदारी गरे ।

एलेनको विकेट गएपछि उनले एक्लै वेष्ट इण्डिजको पारी सम्हाले । पोलार्डको इनिङ्गसमा ८ छक्का र तीन चौका सामेल थियो । एलेनले २६ बलमा चार चौका र एक छक्काको मद्दतमा ३० रन बनाए ।

फ्लेचरले १४ बलमा तीन चौका र उति नै छक्कको मद्दतमा वेष्ट इण्डिजलाई पहिलो विकेटका लागि चौथो ओभरभित्र ५८ रनको शुरुवात दिएका थिए । तर त्यसपछि वेष्ट इण्डिजले मात्र एक रन जोड्दै अस्वाभाविक रुपमा पाँच विकेट गुमाएको थियो ।

यस क्रममा लकि फर्गुसनले तीन र टिम साउदीले दुई विकेट लिएका थिए । फर्गुसनले चार ओभरमा २१ रन खर्चदै पाँच विकेट लिए ।

Click to comment

Trending