Headline

भारतबिरुद्ध अष्ट्रेलियाको पहाडजस्तो योगफल, फिन्च र स्मिथको शतक

Published

on

कप्तान आरोन फिन्च र पुर्व कप्तान स्टिभन स्मिथले शान्दार शतक प्रहार गरेपछि अष्ट्रेलियाले भारतलाई पहिलो एकदिवसीयमा ३ सय ७५ रनको बिशाल लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट ग्राउण्डमा अष्ट्रेलियाले पहिलो ब्याटिङ्ग गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनायो । पहिलो १० ओभरमा भारतले खेललाई नियन्त्रणमै राखेपनि अष्ट्रेलियाले बिशाल योगफल खडा गर्न सफल रह्यो ।

सम्हालिएर इनिङ्गस शुरु गरेको अष्ट्रेलियालाई डेविड वार्नर र फिन्चले पहिलो विकेटका लागि १ सय ५६ रनको शान्दार शुरुवात दिलाएका थिए । वार्नरले ७६ बलमा ६९ रन बनाए । उनको इनिङ्गसमा ६ चौका सामेल थियो ।

त्यसपछि फिन्चले स्मिथसँग अर्को शतकीय साझेदारी गर्ने क्रममा दोश्रो विकेटका लागि १ सय ८ रन जोडेका थिए । फिन्चले १ सय २४ बलमा ९ चौका र दुई छक्का प्रहार गरे । अष्ट्रेलियाले मार्कस स्टोइनिसलाई शुन्यमै गुमाएपनि स्मिथ र ग्लेन म्याक्सवेलले भारती बलरहरुलाई निराश पारे ।

म्याक्सवेलले १९ बलमै ४५ रन ठोक्दै अष्ट्रेलियाले सोचेभन्दा चाडो ३ सय रन कटाउन सहयोग गरे । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । निकै छरितो खेलेका स्मिथ अन्तिम ओभरमा आउट हुनु अघि १ सय ५ रन बनाउदै नवौं एकदिवसीय शतक बनाए ।

मात्र ६६ बलको सामना गरेका स्मिथको इनिङ्गसमा ११ चौका र ४ छक्का सामेल थियो । फिन्चको भने यो १६ औं एकदिवसीय शतक हो । भारतको लागि मोहम्मद सामीले तीन विकेट लिए ।

Click to comment

Trending