IPL

बेंगलोरको खराब ब्याटिङ, हैदराबादलाई १२१ रनको झिनो लक्ष्य

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका ब्याट्सम्यानहरुले खराब ब्याटिङ गर्दा सनराईजर्स हैदराबादले १२१ रनको झिनो लक्ष्य पाएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले  पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १२० रन भन्दा बनाउन सकेन ।

प्ले-अफको यात्रा सुनिश्चित गर्न आजको खेलमा जित निकाल्नै पर्ने भए पनि बेंगलोरले निकै खराब सुरुवात गर्यो । उसको ओपनर देवदत्त पडिकल मात्र पाँच रन तथा कप्तान बिराट कोहली पनि सात रन बनाएर सन्दिप शर्माको शिकार भए । चौथों नम्बरमा ब्याटिङ गर्न आएका एबी डि भिलियर्स र जश फिलिप्पे पनि क्रमश २४ र ३२ रन बनाएर पेभेलियन फर्किए ।

त्यस्तै बेंगलोरका अन्य ब्याट्सम्यानहरुमा वाशिंगटन सुन्दरले २१ रन, क्रिस मोरिसले पाँच रन, इसरु उडाना गोल्डेन डक-आउट भए भने गुरकिरत सिंह १५ तथा मोहम्मद सिराज दुई रनमा अविजित रहे ।

बेंगलोरलाई सस्तैमा रोक्ने क्रममा सन्दिप शर्मा र जेसन होल्डरले समान २-२ विकेट हात पारे । समान ४-४ ओभर बलिङ गरेका शर्मा र होल्डरले क्रमश २० र २७ रन खर्चिए ।

१२ खेल खेलेको बेंगलोर १४ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा छ भने १२ खेल नै खेलेको हैदराबाद १० अंकका साथ अंक तालिकाको सातौं स्थानमा छ ।

आजको खेलमा जित निकालेको खण्डमा बेंगलोरले प्ले-अफको यात्रा तय गर्नेछ भने हार व्यहोरेको खण्डमा आफ्नो अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्न पर्ने हुन्छ । हैदराबादले आफ्नो प्ले-अफको सम्भावना कायमै राख्न आजको खेलमा बेंगलोरलाई पराजित गर्नै पर्ने हुन्छ । आज हैदराबाद पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले हैदराबादलाई १० रनले पराजित गरेको थियो ।बेंगलोरले दिएको १६४ रनको लक्ष्य पक्ष्याएको हैदराबादले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending