IPL

दिल्लीको लगातार चौथों हार, प्ले-अफको सपना पनि चकनाचुर हुने खतरामा

Published

on

ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राको घातक बलिङ र इशान किशानको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १३ औं खेलमा दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले नौं विकेटले पराजित गरेको छ ।

आजको जित पछि यस अघि नै प्ले-अफमा पुगेको मुम्बईले शिर्ष स्थानमा पकड जमाएको छ । १३ खेल पछि मुम्बईले नौं जितका साथ अंक तालिकामा १८ अंक बनाएको छ भने दोश्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरको १२ खेलमा १४ अंक छ भने दिल्लीको १३ खेलमा १४ अंक नै रहेको छ ।

आजको खेलमा पराजित हुँदा लगातार चार खेलमा पराजित भएको दिल्लीको प्ले-अफ खेल्ने सपना पनि चकनाचुर हुने खतरा बढेको छ । दिल्लीले प्ले-अफ यात्रालाई जीवितै राख्नका लागि आफ्नो अन्तिम लिग खेल सोमबार बेंगलोरलाई फराकिलो अन्तरले पराजित गर्नै पर्ने हुन्छ । उक्त खेलमा हारको सामना गरेको खण्डमा प्रतियोगिताबाट नै बाहिरिन सक्नेछ ।

चौथों स्थानमा रहेको किंग्स ११ पन्जाब, राजस्थान रोयल्स र कोलकाता नाइटराईडर्सको १३ खेलमा समान १२-१२ अंक रहेको छ । पन्जाबले चेन्नाई सुपर किंग्स र राजस्थान तथा कोलकाता अन्तिम खेलमा भिड्ने छन् । अन्तिम खेलमा जित निकालेको खण्डमा कोलकाता र राजस्थान मध्य एकको तथा पन्जाबको पनि समान १४-१४ अंक हुन्छ । जसले गर्दा दिल्ली आफै पनि प्रतियोगिताबाट बाहिरिन सक्नेछ । हैदराबादले पनि बाँकी दुई खेलमा दुईमा नै जित निकालेको खण्डमा उसको पनि १४ अंक नै रहने छ ।

आजको खेलमा जितका लागि १११ रनको सानो लक्ष्य लिएर ब्याटिङमा आएको मुम्बईले १४ दशमलब दुई ओभरमा एक विकेट गुमाएर जित दर्ता गरायो ।

मुम्बईको जितमा ओपनर इशान किशानले ४७ बलको सामना गर्दै आठ चौका र तीन छक्काको मद्धतमा अविजित ७२ रन बनाए भने क्विनटन डि ककले पनि २६ रनको पारी खेले । त्यस्तै सुर्य कुमार यादव १२ रनमा अविजित रहे ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेरपहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा ११० रन मात्र बनाउन सक्यो ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस ऐयर २५, रिशब पन्त २१, रविचन्द्रन अश्विन १२, शिम्रोन हेटमायर ११ तथा पृथ्वी श १० रन बनाएर आउट भए भने कागिसो रबाडाले अविजित १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीका ओपनर शिखर धवन शुन्य रनमा पहिलो ओभरको तेश्रो बलमा तथा अर्का ओपनर पृथ्वी श तेश्रो ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टको शिकार हुँदा दिल्लीले तीन ओभरमा १५ रनको अवस्थामा दुई विकेट गुमाएर खराब सुरुवात गर्यो ।

कप्तान श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले तेश्रो विकेटका लागि ३५ रन जोड्दै दिल्लीको पारी सम्हाल्ने प्रयास गरे । तर उनीहरुको विकेटको पतन पछि दिल्ली सम्हालिन सकेन र सानो योगफलमा चित्त बुझाउन बाध्य भयो ।

दिल्लीलाई सस्तैमा रोक्ने क्रममा ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राले समान ३-३ विकेट हात पारे । समान चार चार ओभर बलिङ गरेका उनीहरुले क्रमश २१ र १७ रन मात्र खर्चिए ।

पहिलो लेगमा पनि दिल्ली मुम्बईसँग पाँच विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६२ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको मुम्बईले १९ दशमलब चार ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पार्यो ।

Click to comment

Trending