IPL

युनिभर्स बोस शतक बनाउन चुके पनि पन्जाबको विशाल स्कोर  

Published

on

युनिभर्सल बोस क्रिस गेलले शतक बनाउनबाट चुके पनि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ५० औं खेलमा किंग्स ११ पन्जाबले राजस्थान रोयल्सलाई १८६ रनको विशाल लक्ष्य दिएको छ ।

शेख जायद क्रिकेट रंगशाला, अबुधबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै  चार विकेट गुमाएर १८५ रन बनायो ।

अन्तिम ओभरको चौथों बलमा जोफ्रा आर्चरको बलमा बोल्ड भएका क्रिस गेलले पन्जाबको तर्फबाट सर्वाधिक ९९ रन बनाए । ६३ बलको सामना गरेका उनले छ चौका र आठ छक्का प्रहार गरे । यसै बीच गेलले ट्वान्टी ट्वान्टीमा आफ्नो एक हजार छक्का पनि प्रहार गर्न भ्याए ।

जित्नै पर्ने खेलमा पन्जाबले खराब सुरुवात गर्यो । ओपनिङमा आएका मन्दिप सिंह पहिलो ओभरको अन्तिम बलमा गोल्डेन डक आउट हुन पुगे । त्यस पछि ब्याटिङमा आएका गेलले कप्तान राहुलसँग मिलेर दोश्रो विकेटका लागि १२० रनको साझेदारी गर्दै पन्जाबको पारी सम्हाले । ४१ बल खेल्दै तीन चौका र दुई छक्काको मद्धतमा ४६ रन बनाएका राहुल बेन स्टोक्सको शिकार भए ।

राहुलको विकेटको पतन पछि ब्याटिङमा आएका निकोलस पुरणले गेलसँग मिलेर तेश्रो विकेटका लागि ४१ रनको साझेदारी गरे । १० बलमा २२ रन बनाएका पुरण पनि स्टोक्सको नै बलमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर र बेन स्टोक्सले सामना चार चार ओभर बलिङ गर्दै क्रमश २६ र ३२ रन खर्चिएर समान २-२ विकेट हात पारे ।

आजको खेलमा पन्जाबले कुनै पनि परिवर्तन गरेको छैन भने राजस्थानले एक मात्र परिवर्तन गरेको छ । अंकित राजपुतको स्थानमा वरुण आरोनले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

पन्जाब १२ खेल खेल्दै छ जितका साथ अंक तालिकाको चौथों स्थानमा छ भने १२ खेलमा नै पाँच जित दर्ता गराएको राजस्थान १० अंक सहित अंक तालिकाको सातौं स्थानमा रहेको छ । पन्जाबले छ खेलमा हारको सामना गरेको छ भने राजस्थानले सात खेलमा पराजय भोगेको छ ।

पन्जाबले आजको खेलमा जित निकालेको खण्डमा प्लेअफबाट एक कदम टाढा हुनेछ छ भने हार व्यहोरेमा प्ले-अफमा पुग्नका लागि अरुको नतिजामा निर्भर रहनु पर्ने छ । राजस्थानले भने प्ले-अफको आशा जीवित राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ भने प्ले अफमा पुग्न आजको र आफ्नो अन्तिम खेलमा जित दर्ता गराउन पर्नेछ ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले पन्जाब माथि चार विकेटको रोमान्चक जित हात पारेको थियो । पन्जाबले दिएको २२४ रनको लक्ष्य राजस्थानले १९ दशमलब तीन ओभरमा छ विकेटको नोक्सानीमा जित दर्ता गराएको थियो ।

Click to comment

Trending