Headline

के बिश्व फुटबलको सबैभन्दा ठूलो प्रतिद्वन्दीताको अन्त्य भएको हो ?

Published

on

जब च्याम्पियन्स लिग २०२०–२१ सिजनको लागि समुह चरणको टाईसिट ’ड्र’ भयो समुह जी मा युभेन्टस र बार्सिलोनाबीचको खेलले तुरन्तै सबैको कल्पनामा घर बनायो । यो होम र अवे खेलले सबैको ध्यान आकर्षित गर्यो ।

अरुको लागि सामान्य खेल भए पनि फुटबल समर्थकका लागि दुई सर्वकालिन महान खेलाडी मेस्सी र रोनाल्डो दुई बर्ष पछि आमने–समने हुँदै थिए । जब यि दुई फेरी मैदानमा उत्रने थिए त्यो खेलले पुराना दिनहरुको झल्को दिलाउने थियो ।

२००९–१० देखी २०१७–१८ को सिजन सम्म एक अर्काको चिर प्रतिद्वन्दी भएर खेलेका यि दुई खेलाडीहरु दुई बर्षपछि फेरी एक–अर्कासँग प्रतिस्पर्धा गर्दा को सर्वश्रेष्ठ खेलाडी भन्ने बहस पुन छेडिने थियो ।

रोनाल्डो म्यानचेस्टर युनाइटेडमा भएदेखि पोर्चुगलको अन्तर्राष्ट्रिय खेल र रियल म्याड्रिडसम्म हेर्ने हो भने यी दुई खेलाडीले एक अर्कासँग ३५ पटक खेलिसकेका छन् जस्मा मेस्सीले १६ पटक बाजी मारेका छन् भने रोनाल्डोले १० पटक । बाँकी ९ खेल बराबरीमा टुङ्गिएका थिए । स्पेनमा खेल्दा दुवैले बालोन डि’ओर र फिफा बर्ष खेलाडीको पुरस्कार जितिरहे ।

तर अहिले भने उनीहरु ३६ वा ३७ औँ पटक कहिले भिड्छन् भन्न सकिने अवस्था छैन । मेस्सी ३३ र रोनाल्डो ३५ बर्षका भैसकेका छन् । बढ्दो उमेरसँगै नजिकिदै गरेको सन्यास र फरक देशको लिग खेल्ने गरेका कारण यी दुई एक आपसमा कहिले भिड्ने छन् निश्चित छैन ।

एक हिसावले भन्नु पर्दा फुटबलको दुई महान खेलाडीबीच रहेको व्यक्तिगत प्रतिद्वन्द्वताको अन्त्य नजिक आइसकेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा पनि त्यस्तै देखिन्थ्यो । टुरिनमै बस्ने रोनाल्डो मैदानमा थिएनन्, उनी आफ्नो घरको आइसोलेसनमा रहेका थिए र कारण थियो लगतार तीन पटक कोरोना भाईरस परिक्षण गर्दा को नतिजा ।

च्याम्पियन्स लिगको कोरोना भाईरसको प्रोटोकलको अनुसार कुनै पनि खेलाडीको खेल हुनु २४ घण्टा अगाडि कोरोना नेगेटिभ भएको नतिजा आउनु पर्ने हुन्छ तर रोनाल्डोको भने एक पटक हैन एक हप्तामा तीन पटक नतिजा पोजिटिभ आउन पुग्यो ।

त्यसै कारण मैदानमा मेस्सीसँग ‘हेड टु हेड’ मा हुनु पर्ने रोनाल्डो इन्स्टाग्राममै सिमित हुन पुगे र उनले फोटो पनि पोस्ट गर्दै लेखेका थिए ‘फिलिङ गूड् एन्ड हेल्दी’ । तर खेल खेल्न नपाएको झोकमा पनि होला रोनाल्डोले फोटोको तल कमेन्टमा लेखिदिए, ‘पिसिआर इज बुल…..’

यति मात्र होइन रोनाल्डोले युभेन्टसको जर्सी लगाउदै ट्रेड मिलमा कुद्दै आफ्नो टोलीलाई समर्थन गरेका थिए । उनले खेल जित्नका लागि अनुरोध गर्दै ’फोर्जा युभे’ कराउदै भिडियो पनि पोस्ट गरेका थिए । जुन भिडियो इन्स्टाग्रममा मात्रै १७ मिलियनले हेरेका थिए ।

यिनी त क्लासिक रोनाल्डो हुन् । उनी आफ्नो खेल जीवन जति नकरात्मक हुँदै जान्छ उनी आफुलाई त्यती नै सकारात्मक राख्छन् र त्यस्को लागि उनी प्रख्यात हुनु नौलो कुरा भने हैन ।

मेस्सी पनि केही समय अघि ठुलै समस्याबाट गुज्रिएका थिए तर केही दिन अघि भने अध्यक्ष जोसेप मारिया बार्तोमेउ र उनको सम्पूर्ण बोर्डका सदस्यले रजिनामा दिए पछि भने उनी अर्को चुनाव सम्मका लागि भए पनि अहिले तनाव मुक्त भएको हुनु पर्छ ।

तनाव मुक्त भएकै कारणले होला मेस्सीले युभेन्टस विरुद्धको अवे खेलमा पेनाल्टी मार्फत भए पनि गोल गरे भने पहिलो गोलमा असिस्ट पनि दिएका थिए ।

बार्सिलोनाले खेल जिते पनि रोनाल्डो बिना खेलेको युभेन्टसका कारण खेल प्रतिस्पर्धात्मक नभएर खल्लो देखिन्थ्यो । आशा गरौँ क्याम्प नोउमा डिसेम्बर ९ तारिकमा हुने खेलमा भने मेस्सी र रोनाल्डो बिच हामीले खेल हेर्न पाउने छौँ ।

Click to comment

Trending