Headline

च्याम्पियन्स लिग राउण्ड अपः मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्साले युभेन्टसलाई हरायो

Published

on

लियोनेल मेस्सीले उत्कृष्ट खेल देखाएपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई २–० ले हराएको छ । क्रिष्चियानो रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण अनुपस्थित रहदा खेलले मेस्सी–रोनाल्डो प्रतिद्वन्दिताको लाभ उठाउन पाएको थिएन ।

घरेलु मैदानमा युभेन्टस खेलको १४ औं मिनेटमा नै पछि परेको थियो । मेस्सीकै पासमा औस्माने डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा अल्भारो मोराटाले युभेन्टसका लागि गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रिको प्रयोगमा युभेन्टसको बराबरी गोलले मान्यता पाएन ।

मोराटाको तीन गोल बार्सिलोनाको अफसाइडको जालोमा परेको थियो । खेलको अन्त्यतिर मेस्सीले नै पेनाल्टी मार्फत गोल गर्दै बार्सालाई महत्वपूर्ण जित दिलाए । यसै समुहको अर्को खेलमा युक्रेनको डाइनामो किभ र हँगेरीको फेरेंकभरोसले २–२ गोलको बराबरी खेले ।

समुह इ मा चेल्सीले क्रस्नोडरलाई ४–० ले पराजित गर्यो । १४ औं मिनेटमा नै जोर्गिन्होले पेनाल्टीमा गोल गर्न सफल भएको भए चेल्सीको जित अझै फराकिलो हुने थियो । चेल्सीको जितमा क्यालम हड्सन–ओडोइ, टिमो वेर्नर, हकिम जियेच र क्रिष्चियन पुलिसिचले गोल गरेका थिए ।

अर्को खेलमा लुक डि जोँगको एक मात्र गोलको मद्दतमा युरोपा लिग च्याम्पियन सेभियाले रेनेसलाई १–० ले हरायो । समुह एफमा बोरुसिया डर्टमन्डले जेनिट सेन्ट पिटर्सबर्गलाई २–० ले हरायो भने लाजियो क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकियो ।

दिनको सबैभन्दा ठूलो जित म्यानचेस्टर युनाइटेडेको नाममा रह्यो । समुह एचमा युनाइटेडले गत सिजन च्याम्पियन्स लिगमा सेमिफाइनल खेलेको जर्मन टोली आरबी लाइपजिगलाई ५–० ले हरायो । युनाइटेडको जितमा मार्कस रासफोर्डले ह्याट्रिक गरेका थिए ।

यस्तै मेसन ग्रिनउड र एन्थोनी मार्सियलले पनि १–१ गोल थपेका थिए । यसै समुहको अर्को खेलमा मोइज किनको दुई गोलको मद्दतमा पेरिस सेन्ट जर्माइनले टर्किस क्लब इस्तानबुल बसकेसिरलाई २–० ले हरायो ।

Click to comment

Trending