IPL

बेंगलोर माथि सानदार जित निकाल्दै साबिक बिजेता मुम्बई प्ले अफमा

Published

on

सुर्य कुमार यादवले उत्कृस्ट अर्धशतक प्रहार गरेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर माथि पाँच विकेटको सानदार जित दर्ता गर्दै साबिक बिजेता मुम्बई इन्डियन्सले प्ले अफमा स्थान सुरक्षित गरेको छ ।

आजको खेलमा जित निकाल्दै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा पकड जमाउन सफल भएको छ भने प्लेअफमा पुगेको छ । १२ औं खेलमा आठौं जित निकालेको मुम्बई १६ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा पुगेको हो । दोश्रो स्थानमा रहेको बेंगलोर र तेश्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सको समान १४-१४ अंक रहेको छ ।

जितका लागि १६५ रनको मध्यम लक्ष्य सहित ब्याटिङमा आएको मुम्बईले १९ दशमलब एक ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित हात पारेको हो ।

मुम्बईको जितमा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुर्य कुमार यादवले ४३ बलको सामना गर्दै १० चौका र तीन छक्काको मद्धतमा अविजित ७९ रन बनाए । यस सिजन यादवको तेश्रो अर्धशतक हो ।

मुम्बईका अन्य ब्याट्सम्यानहरुमा ओपनरद्वय क्विन्टन डि कक १८ तथा इशान किशान २५ रन, सौरभ तिवारी पाँच, कुर्नाल पान्ड्या १० तथा हार्दिक पान्ड्या १७ रन बनाएर पेभेलियन फर्किए भने काइरन पोलार्ड चार रनमा अविजित रहे ।

बेंगलोरका मोहम्मद सिराज र युज्बेन्द्र चाहालले समान २-२ विकेट हात पारे भने क्रिस मोरिसले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए । त्यस बाहेक अन्य बलरहरु विकेट बिहिन रहन पुगे ।

यस अघि शेख जायद रंगशाला, अबुधबीमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६४ रन बनायो ।

बेंगलोरको लागि ओपनरद्वय देवदत्त पडिकल र जश फिलिप्पेले पहिलो विकेटको लागि सात दशमलब पाँच ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिए । २४ बलमा ३३ रन बनाएका फिलिप्पे राहुल चाहारको शिकार भए । त्यस पछि आएका कप्तान बिराट कोहली नौं, एबी डि भिलियर्स १५ तथा सौरभ दुबे दुई रन बनाएर पेभेलियन फर्किए ।

उत्कृस्ट ब्याटिङ गरेका पडिकल ४५ बल खेल्दै १२ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाए । उनी १७ औं ओभरमा जस्प्रित बुम्राको बलमा आउट हुन पुगे ।

क्रिस मोरिस दुई बलमा चार रन बनाएर आउट भए पनि वाशिंगटन सुन्दर र गुरकिरत सिंहले अविजित रहँदै क्रमश १० र १४ रनको योगदान दिए ।

बेंगलोरलाई मध्यम स्कोरमा रोक्ने क्रममा जस्प्रित बुम्राले चार ओभर बलिङ गर्दै एक मेडन सहित १४ रन खर्चिएर तीन विकेट हात पारे ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा तीन विकेट गुमाएर २०१ रन बनायो भने जवाफी ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०१ रन बनाए पछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो ।

Click to comment

Trending