Headline

ट्वान्टी–ट्वान्टीमा रशिद खान किन यस्तो घातक ?

Published

on

रशिद खानले मङ्गलवार साच्चिकै अविश्वसनीय बलिङ्ग गरे । इण्डियन प्रिमियर लिगको प्लेअफको दौडमा कायमै रहन सनराइजर्स हैदरावादलाई सशक्त प्रदर्शन गर्दै आएको दिल्ली क्यापिटल्सलाई हराउन आवश्यक थियो ।

ओपनर तथा कप्तान डेविड वार्नर र पहिलो पटक माथिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका रिद्दिमान शाहले बलियो शुरुवात दिलाउदै हैदरावादको २ सय १९ रनको बिशाल योगफलको आधार खडा गरे । तर ब्याटिङ्ग अर्डरमा डेप्थ रहेको दिल्लीबिरुद्ध हैदरावाद ढुक्क हुन सक्ने स्थिति थिएन ।

शिखर धवन र ठूलो लक्ष्यलाई मध्येनजर गर्दै तेश्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका मार्कस स्टोइनिसलाई पेभिलियन फर्काएपनि वेष्ट इण्डिज ब्याट्स्म्यान सिम्रोन हेट्मायर र अजिंक्या रहाने दिल्लीलाई सम्हाल्ने प्रयास गर्दै थिए ।

पावरप्ले लगत्तै रशिद आफ्नो पहिलो ओभर लिएर आए । पहिलो बलमै उनले हेट्मायरलाई बोल्ड गर्दै ४० रनको साझेदारी तोडे र चौथो बलमा रहानेलाई आउट गरेपछि खेलमा हैदरावाद पूर्ण रुपमा हावी भयो । रशिदले यस्तो राम्रो लाइन समाते जहा उनलाई खेल्न सम्भव नै रहेन । रशिदले १३ ओभरभित्रै आफ्नो चार ओभर स्पेल सक्काउदा दिल्लीले अन्य हैदरावाद बलरहरुबिरुद्ध पनि खेल्न असमर्थ रह्यो ।

यो उनले खेलमा पारेको सबैभन्दा ठूलो असर थियो । अक्षर पटेलको पनि विकेट लिएका रशिदले चार ओभरमा मात्र ७ रन खर्चदै तीन विकेट हात पारे । दिल्ली १९ ओभरमै १ सय २१ रनमा अलआउट हुन पुग्यो । जारी आइपिएलमा दिल्लीले रनको हिसाबमा सबैभन्दा ठूलो हार ब्यहोर्यो ।

२२ बर्षिय अफगान लेग स्पिनर रशिद जारी आईपिएलमा १७ विकेटका साथ जारी आइपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीहरुमा तेश्रो स्थानमा रहेका छन् । दिल्लीका तिब्र गतिका दक्षिण अफ्रिकी बलर कागिसो रबाडाको २३ र अर्का फास्ट बलर किंग्स इलेभेन पञ्जाबका मोहम्मदा सामीको २० विकेट रहेको छ ।

रशिदले पहिलो पटक यस्तो गरेका होइनन् । उनी हरेक फ्रान्चाइज ट्वान्टी ट्वान्टी प्रतियोगितामा आफ्नो टिमको मुख्य हतियार हुने गर्छन् । चाहे त्यो अष्ट्रेलियन बिग ब्याश लिग होस या क्यारेबियन प्रिमियर लिग । उनलाई हैदराबादले त्यत्तिकै रिटेन गरेको होइन र फ्रान्चाइजहरुले उनीमाथि त्यत्तिकै पैसा बगाइरहेका छैनन् ।

आईपिएलको १३ औं सिजनमा मङ्गलवारको प्रदर्शनपछि रशिदको इकोनोमी ५ मा झरेको छ । सबैभन्दा बढी विकेट लिने पाँच खेलाडीको सुचीमा रहेकाहरुलाई उनले लामै दुरीले पछि पारेका छन् । राजस्थान रोयल्सका इङ्गल्याण्ड फास्ट बलर जोफ्रा आर्चरको ६ दशमलव ७१ इकोनोमी त्यो सुचिमा रशिदपछि दोश्रो स्थानमा रहेको छ ।

र यो सबै दुर्घट्ना पनि होइन । किन गाह्रो छ त रशिदबिरुद्ध ट्वान्टी ट्वान्टी रन बटुल्न ?

“चाहे म विकेट हात पार्न सकौं या नसकौं, मेरो मुख्य ध्यान भनेको इकोनोमिकल्ली बलिङ्ग गर्नेमा मात्रै हुन्छ । डट बलले मलाई विकेट दिन्छ र अर्को एन्डबाट पनि बलरहरुले विकेट पाउछन्,” रशिद आफै भन्छन् ।

“म स्कोरबोर्डको बारेमा कहिल्यै पनि सोच्दिन । टार्गेट के हो र पहिलो ब्याटिङ्ग गर्दा राम्रो स्कोर के हो मलाई मतलब हुदैन । मेरो दिमागमा सबै कुरा स्पष्ट छ । मैले सहि ठाँउमा बलिङ्ग गर्नु पर्यो र त्यो गर्ने हो भने मलाई कुनै ब्याट्स्म्यानले दुख दिन सक्दैन । तपाईले बलिङ्ग गर्दा ब्याट्स्म्यानको दिमागसँग खेल्नु पर्ने हुन्छ । ब्याट्स्म्यानले के गर्ने प्रयास गर्दैछन् त्यही अनुरुप आफ्नो आक्रमणमा विविधता ल्याउन आवस्श्यक छ,” रशिदले भने ।

मङ्गलवार दिल्लीको पहिलो दुई विकेटमा क्याच लिएका वार्नर शुरु देखि नै आक्रमक देखिन्थे । उनको त्यो बडी ल्याङ्गवेजलाई थप उर्जा दिने काम रशिदले गरेका थिए । रशिदमाथि वार्नरको बिश्वास सधै उच्च नै रहने गरेको छ ।

“व्याट्स्म्यानहरुले रशिदलाई प्रहार गर्न नजानु एक स्तरीय बलरले पाएको सम्मान हो भनेर स्पष्छ हुन्छ । उनी जति बेला पनि राइट एरियामा मात्रै बलिङ्ग गर्छन् । मैदानमा शित हुँदा पनि उनको विकेट लिन सक्ने अद्वितीय प्रतिभा छ,” वार्नरले भने ।

२०१८ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको बरियतामा नम्बर एक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय बलर कायम रहेका रशिद २०१७ मा आईपिएलमा डेब्यु गरेदेखि नै सबैभन्दा बढी डट बल गर्ने प्रमुख पाँच खेलाडीहरुको सुचिमा रहदै आएका छन् । २०१८ मा उनी पहिलो स्थानमा थिए, यो त्यही बर्ष थियो जब हैदराबादले उनलाई अरु कुनै फ्रान्चाइजका लागि खेल्न नदिने निर्णय गरेको थियो ।

जारी आईपिएलमा पनि रशिद सबैभन्दा बढी डट बल गर्ने खेलाडीहरुको सुचिमा दोश्रो स्थानमा रहेका छन् । उनले १ सय ३५ डट बल गरेका छन् भने राजस्थानका आर्चर १ सय ४७ डटसहित पहिलो स्थानमा रहेका छन् । के थाहा हैदरावाद प्लेअफमा क्वालिफाई हुने हो भने मङ्गलवारको जस्तो बलिङ्ग गर्दै रशिदले आर्चरलाई नै पछाडी पार्ने हो की ?

एउटा कुरा के स्पष्ट भने ट्वान्टी ट्वान्टीमा विकेट भन्दा पनि डट बलको महत्व बिशेष हुन्छ । कुनै इनिङ्गसको अन्त्यमा विकेटलाई डट बलको रुपमा हेर्न थालिएको छ । त्यो डट बल फाल्न रशिद माहिर छन् त्यसै कारण उनी ट्वान्टी ट्वान्टीमा खेल्नै नसकिने बलर बन्दै गएका छन् ।

Click to comment

Trending