Headline

बाइ! बाइ! बार्तोमेउ। अन्ततः राजीनामा दिए बार्सिलोना अध्यक्षले

Published

on

बार्सिलोनाका अध्यक्ष जोसेप बार्तोमेउ र उनको सम्पूर्ण बोर्डका सदस्यहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बार्सिलोनाले गएको सिजन च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८-२ को लजास्पद हार बेहोर्नु र क्लबका महान खेलाडी लियोनल मेस्सीले क्लब छोड्ने घुर्की देखाएसँगै अध्यक्ष बार्तोमेउ लगातार आलोचनाको शिकार बन्दै आएका थिए ।

यद्यपि बार्सिलोनाले मेस्सीलाई जान नदिएसँगै क्लबलाई अदालत नलैजाने ठुलो निर्णय लिए पछि बार्तोमेउको पद धरापमा परेको थियो । आउने मार्चमा चुनाव भएसँगै अध्यक्षको पदावधि स्वत: सकिने थियो तर क्लबका अन्य सदस्यहरूले बार्तोमेउलाई तुरुन्तै बाहिर निकाल्ने प्रयासमा अविश्वासको मत बुझाएसँगै उनले राजीनामा दिएका हुन् ।

१६ हजार २ सय ५० हस्ताक्षर मात्रै भए पनि बार्तोमेउको राजिनामा स्विकार्य हुने ठाउँमा अन्य सदस्यहरूले २० हजार ६ सय ८७ हस्ताक्षर संकलन गरेका थिए ।

बार्सिलोनाको बोर्डले बारम्बार हस्ताक्षर कार्यक्रम स्थगित गर्ने कोशिस गर्‍यो तर सोमबार स्थानीय अधिकारीहरूले क्लबलाई चाँडै केही नगरे कारबाही गर्ने बताएसँगै सम्पूर्ण बोर्डले राजिनामा दिएको हो ।

उनको कार्यकालमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिग समेत जितेको थियो । तर अघिल्लो सिजनको अन्तिममा मेस्सीले क्लब छोड्ने निर्णय लिएसँगै बार्तोमेउको पद धरापमा परेको थियो । बार्तोमेउलाई हटाउन मेस्सीको पनि उतिकै भूमिका रहेको छ जती अविश्वासको मतहरुको ।

Click to comment

Trending