IPL

रिद्दीमन शाह र डेभिड वार्नरको तुफानी पारीमा दिल्लीलाई २२० रनको विशाल लक्ष्य  

Published

on

ओपनरद्वय रिद्दीमन शाह र डेभिड वार्नरले तुफानी पारी खेल्दै अर्धशतक बनाए पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४७ औँ खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई २२० रनको विशाल लक्ष्य दिएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा २१९ रन बनायो ।

हैदराबादको तर्फबाट ओपनर रिद्दीमन शाहले सर्वाधिक ८७ रन बनाए भने अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले पनि ६६ रनको पारी खेले । ४५ बल खेल्दै १२ चौका र दुई छक्का प्रहार गरेका शाह र ३४ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका वार्नरले पहिले विकेटका लागि नौं दशमलब चार ओभरमा १०७ रन जोड्दै तुफानी सुरुवात दिए ।

कप्तान वार्नर आउट भए पनि शाहले दोश्रो विकेटका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनिष पाण्डेसँग मिलेर २९ बलमा आक्रमक ६३ रनको साझेदारी गरे ।

अविजित रहेका पाण्डेले ३१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४४ रन तथा केन विलियमसनले १० बलमा अविजित ११ रनको पारी खेले ।

दिल्लीका एनरिच नोर्ट्जे र रविचन्द्रन अश्विनले समान १-१ विकेट हात पारे ।

दिल्लीले आजको खेलमा आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने हैदराबादले तीन परिवर्तन गरेको छ । अहिल्लो खेलमा चोटका कारण टोलीमा नपरेका केन विलियमसनले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

अघिल्लो ११ खेलमा सुरुवाती ११ मा पर्न नसकेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले आजको खेलमा पनि स्थान दिएको छैन । आज पनि उनले बेञ्चमा नै बिताउन पर्ने भएको छ । अघिल्ला दुई सिजनमा दिल्लीको लागि नौं खेल खेल्ने मौका पाएका सन्दिपले यस पटक भने मौका पाउन सकेका छैनन् ।

समान ११-११ खेल खेलेका दिल्ली र हैदराबाद अंक तालिकामा क्रमश दोश्रो र सातौं स्थानमा रहेका छन् । ११ खेलमा सात जित र चार हारका साथ दिल्लीको १४ अंक छ भने चार खेलमा जित र सात खेलमा हार व्यहोरेको हैदराबादको आठ अंक रहेको छ ।

आजको खेलमा जित निकाल्न सकेको खण्डमा दिल्लीको प्लेअफ यात्रा पक्का हुनेछ भने आजको खेलमा पराजित भएको खण्डमा हैदराबादको प्लेअफ सपना टुंगिने छ ।

पहिलो लेगमा हैदराबादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेट गुमाएर १६२ रनको मध्यम योगफल बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४७ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending