IPL

मन्दिप सिंह र क्रिस गेलको अर्धशतकमा पन्जाबको लगातार पाँचौं जित

Published

on

मन्दिप सिंह र क्रिस गेलले अर्धशतक प्रहार गरे पछि कोलकाता नाइट राईडर्सलाई आठ विकेटले पराजित गरेको किंग्स ११ पन्जाबले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौं जित दर्ता गराएको छ ।

१२औं खेलमा पन्जाबको यो छैठौं जित हो । यस जितसँगै पन्जाब कोलकातालाई पछि पार्दै अंक तालिकाको चौथों स्थानमा उक्लिएको छ । पहिलो लेगको अन्त्य सम्ममा सात खेल खेल्दै एक खेलमा मात्र जित दर्ता गराएको पन्जाबले पछिल्लो पाँच खेलमा भने शतप्रतिशत नतिजा आफ्नो पक्ष्यमा पार्न सफल भएको छ ।

जितका लागि १५० रनको लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले १८ दशमलब पाँच ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित आत्मसाथ गर्यो ।

पन्जाबको जितमा ओपनिङमा ब्याटिङ गर्न आएका मन्दिप सिंहले अविजित रहँदै सर्वाधिक ६६ रन बनाए । ५६ बलको सामना गरेका उनले आठ चौका र दुई छक्का प्रहार गरे । पन्जाबको जितमा तेश्रो नम्बरमा ब्याटिङ गरेका क्रिस गेलले तुफानी पारी खेल्दै २९ बलमा दुई चौका र पाँच छक्काको मद्धतमा ५१ रन बनाए ।

त्यस्तै ओपनिङमा आएका कप्तान केएल राहुलले पनि ३५ बलको सामना गर्दै चार चौकाको मद्धतमा २८ रनको योगदान दिए भने निकोलस पुरण दुई रनमा अविजित रहे ।

कोलकाताका लुकी फर्गुसन र बरुण चक्रवर्थीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराउन सफल रहे ।

यस अघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १४९ रन बनायो ।

कोलकाताको तर्फबाट ४५ बलको सामना गरेका ओपनर शुबमन गिलले तीन चौका र चार छक्काको मद्धतमा सर्वाधिक ५७ रन बनाए भने कप्तान ओइन मोर्गनले पनि २५ बलमा ४० रनको योगदान दिए । त्यस्तै अविजित रहेका लोकी फर्गुसनले १३ बलमा २४ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका अर्का ओपनर नितिश राना गोल्डेन डक आउट, राहुल त्रिपाठी चार बलमा सात रन तथा दिनेश कार्तिक दुई बल खेल्दै डकआउट हुँदा एक दशमलब छ ओभरमा तीन विकेटको नोक्सानीमा १० रनको स्थितीमा खुम्चिन पुग्यो ।

मोर्गन र गिलले चौथों विकेटका लागि ४७ बलमा ८१ रनको साझेदारी गर्दै कोलकाताको पारी सम्हाले । तर नौं दशमलब पाँच ओभरमा कुल स्कोर ९१ रन हुँदा मोर्गन पनि पेभेलियन फर्किए । त्यस पछिका ब्याट्सम्यानहरु सुनिल नारायण र कमलेश नगरकोटी समान ६-६, प्याट कमिन्स एक रन बनाएर आउट भए ।

पन्जाबका मोहम्मद शामीले सर्वाधिक तीन विकेट लिए भने युवा लेग स्पिनर रवि बिश्नोइले किफायती बलिङ गर्ने क्रममा चार ओभरमा एक मेडन सहित २० रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । त्यस्तै क्रिस जोर्डनले पनि दुई विकेट नै हात पारे ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले पन्जाबलाई दुई रनको झिनो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा छ विकेट गुमाएर १६४ रनको मध्यम योगफल तयार पार्यो भने जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६२ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending