IPL

गिलको अर्धशतकमा कोलकाताको मध्यम योगफल

Published

on

दोश्रो ओभर भित्रमा तीन विकेट गुमाएर खराब सुरुवात गरे पनि ओपनर शुबमन गिलको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४६औं खेलमा कोलकाता नाइट राईडर्सले किंग्स ११ पन्जाबलाई १५० रनको मध्यम लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १४९ रन बनायो ।

कोलकाताको तर्फबाट ४५ बलको सामना गरेका ओपनर शुबमन गिलले तीन चौका र चार छक्काको मद्धतमा सर्वाधिक ५७ रन बनाए भने कप्तान ओइन मोर्गनले पनि २५ बलमा ४० रनको योगदान दिए । त्यस्तै अविजित रहेका लोकी फर्गुसनले १३ बलमा २४ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका अर्का ओपनर नितिश राना गोल्डेन डक आउट, राहुल त्रिपाठी चार बलमा सात रन तथा दिनेश कार्तिक दुई बल खेल्दै डकआउट हुँदा एक दशमलब छ ओभरमा तीन विकेटको नोक्सानीमा १० रनको स्थितीमा खुम्चिन पुग्यो ।

मोर्गन र गिलले चौथों विकेटका लागि ४७ बलमा ८१ रनको साझेदारी गर्दै कोलकाताको पारी सम्हाले । तर नौं दशमलब पाँच ओभरमा कुल स्कोर ९१ रन हुँदा मोर्गन पनि पेभेलियन फर्किए । त्यस पछिका ब्याट्सम्यानहरु सुनिल नारायण र कमलेश नगरकोटी समान ६-६, प्याट कमिन्स एक रन बनाएर आउट भए ।

पन्जाबका मोहम्मद शामीले सर्वाधिक तीन विकेट लिए भने युवा लेग स्पिनर रवि बिश्नोइले किफायती बलिङ गर्ने क्रममा चार ओभरमा एक मेडन सहित २० रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए । त्यस्तै क्रिस जोर्डनले पनि दुई विकेट नै हात पारे ।

आजको खेलमा पन्जाब र कोलकाताले आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेका छैनन् ।

प्लेअफमा पुग्ने लक्ष्य राख्ने हो भने दुबै टोलीले आजको खेल जित्नै पर्ने हुन्छ । समान ११-११ खेल खेलेका कोलकाता र पन्जाब अंक तालिकामा क्रमश चौथों र पाँचौं स्थानमा रहेका छन् । ११ खेलमा कोलकाताले छ खेलमा जित हात पार्दा पन्जाबले पाँच खेलमा मात्र जित निकाल्न सकेको छ ।

पहिलो लेगको अन्त्य सम्ममा एक खेलमा मात्र जित दर्ता गराएको पन्जाबले पछिल्लो चार खेलमा भने शतप्रतिशत नतिजा आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । कोलकाताले भने पछिल्लो चार खेल मध्य दुईमा जित दर्ता गराउँदा बाँकी दुई खेलमा हारको सामना गरेको छ ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले पन्जाबलाई दुई रनको झिनो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा छ विकेट गुमाएर १६४ रनको मध्यम योगफल तयार पार्यो भने जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६२ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending