Headline

आफ्नो करिअरमा थपिएका असिमित संकटले घेरिएका मेस्सी

Published

on

फुटबलमा ‘संकट’ सबैभन्दा बढी प्रयोग हुने गरेको शब्द हो । निरन्तर तनाव उत्पन्न गर्न केही हातमा गन्न सकिने खेलकुद दैनिक पत्रिकाहरुले एक दुईवटा हारपछि नै आगो ओकल्ने गरेको स्पेनिस फुटबलमा बिशेषगरि संकट शब्दको प्रयोग तुलनात्मक रुपमा बढी हुने गरेको छ ।

यही कारण बार्सिलोनाको व्यवस्थापन गरेको चार बर्षपछि पेप ग्वार्डियोलाले एक बर्षको बिश्राम लिएका थिए । रियल म्याड्रिड छोडेको ९ महिनापछि नै जिनेदिन जिदान फर्कनु यसै संकटको अर्को एउटा अङ्ग थियो । तनाव कहिल्यै कम हुदैन भने शक्ति संघर्ष निरन्तर चलिरहन्छ ।

शनिबार सिजनको पहिलो एल क्लासिकोमा रियलसँग ३–१ ले पराजित भएपछि बार्साको अगाडी संकट छ । तथ्यगत रुपमा भन्ने हो भने धेरै नै संकट छ ।

समर्थकहरुको अुनपस्थितिमा खेलिएको पहिलो एल क्लासिकोबाट मौन अपेक्षा रहेको थियो । आम रुपमा यो खेल जनजातीयताको टकराव थियो, बिश्वका दुई ठूला र धनी क्लबबीचको भिडन्त तर कहिल्यै कमजोर नहुने स्वायत्तताको आवेगले भरिएको क्याटलन क्षेत्र र स्पेनको केन्द्रिय राजधानीबीचको संघर्ष पनि । तर खाली क्याम्प नोउमा त्यो वातावरण र आलोचनाको आवाज नहुने पक्का नै थियो ।

एल क्लासिकोका लागि उत्रदा २००३ पछि पहिलो पटक दुवै टोली ला लिगामा आ–आफ्नो पछिल्लो खेल हारेर आएका कारण यसमा सर्वश्रेष्ठ्ताको लडाईले नयाँ उचाई लिएको थियो ।

आफ्नो व्यवस्थापकीय उपलब्धिमा तीन वटा च्याम्पियन्स लिग जोड्नुका साथै अघिल्लो सिजन ला लिगा जितेपछि जिदान र बार्सिलोना प्रशिक्षक रोनाल्ड कोमनलाई किक अफ अघि देखि नै दवाब थियो । यसै सिजन माथिल्लो श्रेणीमा उक्लिएको काडिजसँग पराजित हुनुका साथै च्याम्पियन्स लिगमा प्रमुख १० खेलाडी नै अनुपस्थित रहेको युक्रेनी क्लब शख्तर दोनेस्कसँग ३–२ ले स्तब्ध हुन पुग्दा जिदान संकटबाट गुज्रिरहेका थिए ।

यता कोमन भने यस्तो बार्सा टोलीलाई सम्हाल्न आइपुगेका छन् जस माथि च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजयपछि अस्तित्वको प्रश्न तेर्सिएको छ भने उसको उत्कृष्ट खेलाडी लियोनेल मेस्सीले असन्तोष हुनु पर्ने कारणहरुको लामो सुची तयार पार्दै क्लब छोड्ने असफल प्रयास गरेका थिए ।

एल क्लासिकोको परम्परा अनुसार जिदानले पछिल्ला परिणामहरुबाट क्षमा पाइसकेका छन् भने कोमनको संकट थप गहिरिएको छ । उनको काँधलाई अब समस्याको भारले थिच्न थालेको छ ।

प्राथमिक संकट भनेको बार्साको लिग फर्म नै हो । बार्सा अहिले अंक तालिकाको १२ औं स्थानमा रहेको छ । बढी कमाउने गरेका मेस्सीका साथीहरु लुईस सुवारेज, इभान राकिटिच र आर्टुरो भिडाललाई बिदाई गर्दै आर्थिक भार कम गर्ने र अफ सिजनमा युवा खेलाडीहरुलाई स्थान दिदै टिमको पुनर्ताजगी गर्ने हतारमा आएको परिणामहरुले बार्सा टुप्पोबाट भर्न थालेको छ ।

बार्सा सिजनको बीचमा प्रशिक्षकहरुलाई बर्खास्त गर्ने क्लबहरुमा पर्दैन । तर गत सिजन पूर्ण रुपमा प्रतिस्पर्धी प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गर्दै किके सेटियनलाई नियुक्त गर्दाको परिणाम भयावह थियो । २००३ मा अर्का डच प्रशिक्षक लुईस भान हाललाई सिजनको बीचमा बर्खास्त गरेको बार्साले १६ बर्षमा पहिलो पटक यस्तो निर्णय लिएको थियो ।

गत हप्ता कोमनले मेस्सीलाई एक्ल्याउदै सार्वजनिक रुपमै उनको फर्ममाथि प्रश्न गर्ने दुस्साहस गर्दा बार्साले लगातार दुई सिजन यस्तो निर्णय नलिएला भन्न सकिदैन ।

र अर्को तर्फ भावुक मेस्सी छन् जो आफै सुस्त गतिमा चलिरहेका एक संकट भएका छन् । आफूले गरेको सम्झौताबिरुद्ध कानुनी उपाय अपनाउदै निकै घिनलाग्दो, महँगो र लामो प्रकृयाबाट गुज्रनु पर्ने भएको कारण मात्रै मेस्सी अहिले आफ्नो बाल्यकालको क्लबमा छन् । उनी बार्सामा बस्नै चाहदैनन् ।

सामान्यत इच्चाबिपरित खेलाडीहरुलाई क्लबमा राख्नु राम्रो आइडिया कदापी पनि होइन । ढल्कदो उमेरमा ठूलो छालसँग एउटा सानो टालो लिएर लडेजस्तै निकै कम सहयोगकाबीच टिमलाई उचाइमै राख्ने प्रयास गरिरहेका फुटबलका सर्वकालीन महान खेलाडीलाई जबर्जस्ती राख्न खोज्दा मेस्सी एक हताश क्लबको बन्दी भएको जस्तो देखिएका छन् ।

रियलबिरुद्धको एक मात्र गोलमा मेस्सीकै प्रमुख भुमिका रहेको थियो । उनले निकालेको टेपले नापेको जस्तो पासलाई जोर्डी आल्बाले कलेक्ट गर्दै अन्सु फातीलाई दिएपछि बार्साका उदीयमान युवा खेलाडी गोल गर्न सफल भएका थिए । तर बार्साको टोलीमा मेस्सी फेरि पनि एक मात्र खतराको रुपमा देखिएका थिए । यो हतारमा निकालिएको निष्कर्ष जस्तो सुनिएपनि ३३ बर्षको उमेरमा मेस्सीलाई पहिले जस्तो डिफेण्ड गर्न गाह्रो छैन । यो केही हदसम्म सहि पनि हो किन भने कोमनले बनाएको सिस्टममा मेस्सीले पहिले भन्दा बढी प्लेमेकरको भुमिका खेलिरहेका छन् । मैदानको बढी भाग कभर गर्दै अन्तिम बलमा मेस्सी आक्रमणका लागि जोडिनु पर्ने भएको छ ।

अन्तिम संकट ला लिगा आफै हो । ला लिगासँग अब आफू बिश्वकै उत्कृष्ट लिग रहेको भन्ने दाबी गर्ने आधार छैन । स्पष्ट रुपमा यो इङ्गलिस प्रिमियर लिग नै हो भने जर्मन बुन्डेसलिगा र इटालियन सिरी आ स्पेनिस लिगको स्तरका लागि अब खतरा बन्न थालिसकेका छन् ।

बर्तमान अवस्थामा बिश्वका उत्कृष्ट खेलाडीहरु ला लिगाको दुई प्रमुख टोली बार्सिलोना र रियल म्याड्रिडको मात्रै पछि लागिरहेका छैनन् । क्रिष्चियानो रोनाल्डोले रियल छोडेको तीन बर्ष हुदैछ तर उनको स्थानमा अन्य कोही आएका छैनन् । दुवै टोलीले यो सिजन कुनै ठूला खेलाडीलाई लिएन । बार्साको पछिल्ला ठूला अनुबन्धन शनिबार तेश्रो सब्स्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए ।

कोमनले त शनिबार मेस्सीलाई १७ बर्षियहरुको घेराबन्दीमा राख्दै खेलको शुरुवात गरेका थिए । रियलको समस्या पनि उस्तै थियो । बार्साबिरुद्ध जिदानले गत सिजनका दुई महँगा खेलाडी लुका जोभिच र एडर मिलिटाओलाई बेञ्चमै राखेका थिए । दुवै टोलीमा प्रशस्त युवा प्रतिभा छन् तर आफ्नो धार गुमाइसकेका धेरै भेटेरानहरु पनि छन् । ती भेटेरानहरु केन्द्रिय भुमिकामा रहदा दुवै टोली बिगतमै वातावरणमा अड्किएको आभाष हुन्छ ।

रियलसँगको खेल अर्को पराजयमा टुँगिएपछि मेस्सीले त्यही पोज दिए जुन पछिल्लो केही सिजनदेखि परिचित बनिसकेको छ । उनी दुई हात कम्मरमा राख्दै एउटा खुट्टा केही अगाडी बढाउदै कुनै कुरालाई पनि नहेरे जस्तै हेर्दैथिए । उनको त्यो पोज बार्सिलोनाले टार्न नसक्ने पतनको प्रतिक बन्न थालिसकेको छ ।

मेस्सी आफूले लाउन नचाहेको जर्सी लगाउदै एक पछि अर्को संकट उत्पन्न भइरहेको करिअरको बन्दी बनेका छन्, यस्तो क्लबमा जसले उनलाई जान नै दिइरहेको छैन र यस्तो लिगमा जुन उनका लागि अब उपयुक्त पनि छैन ।

 

यो पनि हेर्नुहोस् –
बास्केटबल संघ र क्लबबाट आर्थिक मात्र हैन मानसिक सहयोग पनि पाइन : सबिता खड्का

Click to comment

Trending