बास्केटबल खेलाडी सबिता खड्काले आफु घाइते हुँदा नेपाल बास्केटबल संघ तथा उनको क्लब प्राइम कलेजबाट आर्थिक सहयोगको साथ साथै मानसिक सहयोग पनि पाउन नसकेको जनाएकी छिन् । सबिताले पहिलो पटक आफ्नो समस्या मिडियामा बाहिर ल्याउदा नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष होम डोँगले उनलाई सक्दो सहयोग गर्ने आश्वासन दिएको बताएकी थिइन् । तर उनले अझै पनि कुनै किसिमको सहयोग भने पाएकी छैनन् ।
२०१७ अगष्टमा नेपाल बास्केटबल संघले आयोजना गरेको थ्रि बाई थ्रि प्रेसिडेन्ट कप राष्ट्रिय बास्केटबल प्रतियोगिताका क्रममा घाइते भएकी सबिता अहिले ग्वार्कोस्थित अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरमा नियमित फिजियोथेरापी गराउँदै आएकी छिन् ।
के भएको थियो ?
त्रिपुरेश्वरको कभर्ड हलमा थ्रि बाई थ्रि राष्ट्रियमा साइपालबिरुद्ध खेल चलिरहदा सबितालाई घुडामा नराम्रो चोट लाग्न पुग्यो । प्राइम टोलीले एक्स रे गरिदिएपछि डक्टरले उनलाई दुई–तीन दिनको आरामपछि ठिक हुन्छ भनेर घर पठाइदिए । तर एक महिना बितिसक्दा पनि दुखाई कम नभएपछि उनले प्राइमका व्यवस्थापक सन्तोष ताम्राकारको माध्यमबाट ब्लु क्रस हस्पिटलका अर्थोपेडिक सर्जन निरज श्रेष्ठलाई एमआरआई गरेर देखाइन् ।
एमआरआई गर्दा उनको एसिएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यात्तिएको देखिएको थियो । डक्टर श्रेष्ठले उनको सर्जरी नगरेर फिजियोथेरपीले नै ठिक हुन्छ भनेपछि उनी त्यही अनुसार काम गर्दै गइन् । घुँडाको मुख्य लिगामेन्ट, एन्टेरियर क्रुसिएट, च्यात्तिने समस्या खेलाडीहरुमा सबैभन्दा बढी हुने गर्छ । यो ‘स्पोर्टस इन्जुरी’ नै हो । यसको चोटबाट फर्किन निकै लामो समय लाग्छ भने कतिपय खेलाडीहरुको करिअर पनि सक्किने गरेको छ ।
“म त्यो समय जम्मा १७ बर्षको थिए र मलाई यो चोटको बारेमा केही जानकारी नै थिएन । मैले डक्टरले जस्तो भने त्यही गर्दै गए,” सबिता सम्झन्छिन् । “एक बर्ष फिजियोथेरपीका लागि घर–डक्टर गर्दै बित्यो । ठीक नभएपछि डक्टर निरजले ओम हस्पिटलमा सर्जरी गर्नुभयो तर उहाले एसिएलको नभएर मेनिस्कस (घुडा र तिघ्राको हड्डीलाई सन्तुलन गर्ने भाग) सर्जरी गरिदिनु भएछ जुन मैले धेरै पछि मात्र थाहा पाए । डक्टरले एसिएल पूर्ण रुपमा च्यात्तिएको छैन, अहिले मेनिस्कस गरेर ६ महिनापछि एसिएलको सर्जरी गर्ने भन्नुभएको थियो।”
झड्का त तब लाग्यो जब उनले आफ्नो घुँडाको साचो स्थितिबारे थाहा पाइन् । “ग्वार्कोको अर्थोप्लास्ट रिह्याबिलिटेसनमा फिजियोथेरपी गर्दा मैले अर्का अर्थोपेडिक डक्टर राजिब राज मानन्धरलाई भेटे । डक्टर राजिवले मेरो पुरानो र अहिलेको घुँडाको एमएरआई तुलना गर्दा एसिएल नै नरहेको र घुँडापनि स्थिर नरहेको बताउनुभयो । यो सुनेर मलाई एकदम डर लागेको थियोे,” सबिताले खुलाइन् ।
यसै त डक्टरको लापरवाहीका कारण भोग्दै आएको पिडा, त्यसमाथि टिमले वास्ता नगरिदिदा सबितालाई घाउमा नुन छरे जस्तो हुन थाल्यो ।
बास्केटबलमा चोट बोकेपछि कसैले वास्ता नगरिदिदा करिअर नै छोड्नु परेको सबिता एक मात्र खेलाडी होइनन् । यसअघि महिला राष्ट्रिय टोलीबाट खेलिसकेकी समिक्षा न्यौपाने पनि २०१४ मा बोकेको एसिएल चोटकै कारण खेल छोड्न बाध्य भइन् । समिक्षालाई न उनको क्लबले हेर्यो न संघले नै । सरकारी स्तरमा पहुच पुर्याएर आफ्नो समस्या राख्नु खेलाडीको लागि धेरै टाढाको कुरा हो ।
पुरष बास्केटबल टिमकै खेलाडी सञ्जय ब्यञ्जनकार (जुनियर) ले पनि यहि चोटका कारण हतोत्साहित भएपछि क्षण भरमै आफूले सन्यास लिएको घोषणा नै गरिदिए । सञ्जय अहिले अमेरिकामा बस्ने गर्छन् । अर्का बास्केटबल खेलाडी केतन खड्काको यही चोटमा त्रिभुवन आर्मी क्लबले शल्यकृया गरिदिएको थियो।
यो स्थिति बास्केटबलमा मात्र सिमित भने छैन । नेपालमै सन् २०१७ मा भएको एएफसी अण्डर–१६ च्याम्पियनसिप खेलिसकेका ब्रिजेश चौधरी हल्चोकमा प्यालेस्टाइनबिरुद्ध खेल्दा घाइते भए । एसिएल इन्जुरी नै बोेकेका ब्रिजेशलाई एन्फाले त्यो समय २५ हजार रुपैया थमाइदियो । राष्ट्रिय खेलकुद परिषदबाट एक लाख पाएका ब्रिजेशलाई ठीक भएर खेलमा फर्किनका लागि चार लाख रुपैया भन्दा बढी खर्च गर्नुपरेको थियो ।