Headline

३० बर्षमै सन्यास घोषणा गरेका तनमयको सफल–असफल क्रिकेट कथा

Published

on

बिश्व क्रिकेटको पावर हाउस बनेको भारतमा राष्ट्रिय टोलीमा पर्न तिब्र प्रतिस्पर्धा हुने गर्छ । एक सफल क्रिकेटर हुनका लागि राम्रो खेलेर मात्रै पुग्दैन उसलाई भाग्यले त साथ दिनु पर्छ नै सँग–सँगै सबै थोक मिलेर जान पनि पर्छ । कतिपय क्रिकेटरहरुको करिअरले उचाइ नलिएरै अन्त्य देखेको हुन्छ ।

यसको एक उदाहरण २००८ को अण्डर १९ बिश्वकप बिजेता तनमय श्रीवास्तव बनेका छन् । १६ बर्षको उमेरमै तनमयले भारतीय अण्डर १९ टोलीको कप्तानी गरे । उक्त टोलीमा हालका भारतीय कप्तान विराट कोहली, मनिष पाण्डे र रविन्द्र जडेजा लगायतका खेलाडीहरु थिए । तर तनमयले आइतबार ३० बर्षको उमेरमै सन्यास लिन पुगेका छन् ।

भारतको प्रथम श्रेणी क्रिकेटमा तनमयले ९० खेलबाट ४ हजार ९ सय १८ रन बनाएका छन् । उनले धेरै जसो खेलहरु उत्तर प्रदेशको लागि खेलेका थिए र त्यही टोलीलाई उमेर समुह देखि नै नेतृत्व गरेका थिए । बायाँ हाते ओपनर तनमय २०१९–२० मा घरेलु सिजनका लागि उत्तर प्रदेश छोड्दै उत्तराखण्डको टोलीका लागि खेल्न गएका थिए ।

तर कोरोना भाइरसको महामारीका कारण घरेलु सिजन शुरु हुने टुँगो नलागिरहदा तनमय उत्तराखण्डको टोलीमा नपरेपछि उनले सन्यासकै घोषणा गरिदिए । भारतमा यस्तो खेलाडीको करिअर अन्त्य हुन पुग्यो जसलाई कुनै समय लामो समय राष्ट्रिय टोलीमा टिकेर बस्ने अनुमान गरिएको थियो ।

२००८ को अण्डर १९ बिश्वकप ट्रफिका साथ हालका भारतीय कप्तान बिराट कोहलीसँगै तनमय

“उत्तराखण्डबाट नखेल्ने हुनाले अब त्यो टिममा मेरो लागि निकट भविष्यमा केही छ जस्तो लागेन । न त म आईपिएल खेलिरहेको छु न त भारतीय टोलीका लागि नै खेल्नेछु, त्यसैले मसँग खेल्नको लागि कुनै कारण नै बचेन,” तनमयले क्रिकइन्फोलाई भनेका छन् ।

“मैले ९० प्रथम श्रेणीका खेलहरु खेले । एक सय पुर्याउन मैले १० बढी खेलेको भए पनि हुन्थ्यो तर मैले के नै पाउथे र ? कुनै परिवर्तन हुने थिएन । बरु कुनै युवा खेलाडीलाई स्थान दिन उचित हुन्थ्यो । एक कोशेढुँगाको लागि म टास्सिएर बस्नुभन्दा कुनै राम्रो प्रतिभाले सहि समयमा सहि अवसर पाए राम्रो हुनेछ,” तनमयले भने ।

तनमयको करिअरले निकै राम्रो शुरुवात पाएको थियो । कोहली, जडेजा र पाण्डे सम्मिलित अण्डर १९ टोलीको कप्तानी गर्दा उनी जम्मा १६ बर्षका थिए । १८ बर्षको हुँदा उनको स्थान कोहलीले लिए तर पनि मलेशियामा भारतले २००८ को अण्डर १९ बिश्वकप जित्दा उनले भारतका लागि सर्वाधिक रन बनाएका थिए ।

२००६ र २००८ मा उत्तर प्रदेश लगातार दुई पटक रणजी ट्रफिको फाइनल पुग्दा तनमय टिमको सबैभन्दा महत्वपूर्ण हिस्सा थिए । २००८ को फाइनलमा दिल्लीसँग पराजित हुदा उनले शतक समेत प्रहार गरेका थिए । तनमय मात्र नभएर धेरैलाई उनको करिअरले आकाश छुने अपेक्षा थियो । तर उनी त्यहाभन्दा माथि जान सकेनन् ।

इण्डियन प्रिमियर लिगको पहिलो दुई सिजनमा उनी किंग्स इलेभेन पञ्जाबको टिम सदस्य थिए तर त्यसपछि भने उनलाई आइपिएलमा लिन छाडियो । उनले कोचि टस्कर्स केरेलाका लागि एक सिजनको सम्झौता त पाए तर टिममा पर्न सकेनन् ।

२००८ अण्डर १९ बिश्वकपमा इङ्गल्याण्डबिरुद्ध ब्याटिङ्ग गर्दै तनमय

“मेरो करिअरको सबैभन्दा बिर्सन नसकिने क्षणमध्ये २००७ को च्यालेन्जर ट्रफिमा १७ बर्षिय खेलाडीको रुपमा सचिन तेन्दुल्करसँग ओपनिङ्ग गर्नु थियो । उनी हिरो हुन् र त्यो मेरो लागि एक जादुमयी अनुभव थियो । रणजी फाइनलको शतक, अण्डर १९ बिश्वकप जित्दा टिमको सदस्य रहनु, भारतको जर्सी लगाउनु र आइपिएलको हिस्सा बनु सधै मेरो लागि सम्झनयोग्य रहनेछ,” उनले भने ।

“मैले हरेक सिजन ५ सय देखि ६ सय रन बनाउने गर्थे, जुन शायद राम्रो थियो । तर त्यति नै रन बनाउने अन्य धेरै ब्याट्स्म्यानहरु हुने गर्छन् । शायद म त्यसैले पछि परे ।”

सन्यास लिएपछि अब के गर्ने भन्ने बिषयमा तनमयले केही सोचेका छैनन् । अहिलेका लागि उनले कर्पोरेट क्रिकेट प्रतियोगिताहरुमा ओएनजीसी (ओयल एण्ड नेचुरल ग्यास कर्पोरेसन) का लागि खेल्नेछन् । उत्कृष्ट भविष्य देखेरै ओएनजीसीले उनलाई २००७ मै खेलकुद कोटाबाट जागिर दिएको थियो ।

Click to comment

Trending