IPL

बेंगलोर माथि चेन्नाईको सहज जित, जितसँगै प्लेअफको सम्भावना जीवितै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४४औं खेलमा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोर माथि आठ विकेटको सहज जित दर्ता गराएको छ । जितसँगै चेन्नाईको प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न सफल भएको छ ।

१२औं खेलमा चेन्नाईको यो चौथों जित हो । आजको जित पछि अंक तालिकाको पुछारमा रहेको चेन्नाई सातौं स्थानमा उक्लिन सफल भएको छ । आजको खेलमा पराजित भएको खण्डमा चेन्नाई प्रतियोगिताबाट बाहिरिने थियो ।

चेन्नाईको जितमा अविजित रहेका ओपनर रुतुराज गाइकवाडले सर्वाधिक ६५ रन बनाए । ५१ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर फाफ डु प्लेसिसले २५ रन तथा अम्बाती रायुडू ३९ रन बनाएर पेभेलियन फर्किए भने कप्तान महेन्द्र सिंह धोनीले पनि अविजित रहँदै १९ रनको पारी खेले ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १४५ रनको सामान्य योगफल बनायो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ५० रन बनाए भने एबी डि भिलियर्सले पनि ३९ रनको पारी खेले । ४३ बलमा समान एक चौका र एक छक्का प्रहार गरेका कोहली र ३६ बलमा चार चौका प्रहार गरेका डि भिलियर्सले तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गरे ।

कोहली र डि भिलियर्स बाहेक ओपनरद्वय देवदत्त पडिकल र आरोन फ़िञ्चले क्रमश २२ र १५ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बेंगलोरलाई सस्तैमा रोक्ने क्रममा साम कुर्रानले सर्वाधिक तीन विकेट लिए भने दिपक चाहारले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए । कुर्रानले तीन ओभरमा १९ रन मात्र खर्चिए ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १६९ रन बनायो भने १७० रनको लक्ष्य सहित ब्याटिङमा आएको चेन्नाईले २० ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending