IPL

राना र नारायणको अर्धशतकमा दिल्लीलाई कोलकाताको विशाल लक्ष्य  

Published

on

ओपनर नितिश राना र सुनिल नारायणले अर्धशतक प्रहार गरे पछि  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो ११ औ खेलमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई १९५ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटि गरेको कोलकाताले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १९४ रन बनायो ।

कोलकाताको तर्फबाट नितिश रानाले ५३ बलको सामना गर्दै १३ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ८१ रन बनाए भने पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सुनिल नारायणले रबाडाको बलमा आउट हुनु अघि तुफानी पारी खेल्दै ३२ बलमा छ चौका र चार छक्काको मद्धतमा ६२ रन बनाए ।

ओपनर शुबमन गिल नौं, राहुल त्रिपाठी १३ तथा दिनेश कार्तिक तीन रन बनाएर आउट हुँदा खराब सुरुवात गरे पनि राना र नारायणले चौथों विकेटका लागि ५६ बलमा ११५ रनको साझेदारी गर्दै कोलकाताको पारी सम्हाले ।

कोलकाताका कप्तान ओइन मोर्गन १७ रनमा अविजित रहे ।

दिल्लीका एनरिच नोर्ट्जे चार ओभरमामा २७ रन, कागिसो रबाडाले चार ओभरमा ३३ रन तथा मार्कस स्टोइनिशले चार ओभरमा ४१ रन खर्चिएर समान २-२ विकेट हात पारे ।

आजको खेलमा दिल्ली र कोलकाता दुबै टोलीले २-२ परिवर्तन गरेका छन् । दिल्लीले यस अघिको खेलमा चोटका कारण खेल्न नसकेका एनरिच नोर्ट्जेलाई ड्यानियल स्याम्सको स्थानमा तथा पछिल्लो खेलहरुमा खराब फर्मबाट गुज्रि रहेका पृथ्वी शको स्थानमा अजिंक्य रहानेले सुरुवाती ११ मा राखेको छ ।  कोलकाताले भने टम बान्टनको स्थानमा सुनिल नारायणलाई र कुलदिप यादवको स्थानमा कमलेश नगरकोटीलाई खेलाउने भएको छ ।

दिल्ली १४ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा तथा कोलकाता १० अंक सहित तालिकाको चौथों स्थानमा रहेको छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १४ अंक नै रहे पनि नेट रन रेटका आधारमा मुम्बई पहिलो, दिल्ली दोश्रो र बेंगलोर तेश्रो स्थानमा छन् ।

१० खेल खेलेको दिल्लीले सात खेलमा जित हात पार्दा तीन खेलमा हारको सामना गरेको छ भने कोलकाताले १० खेल खेल्दै समान पाँच पाँच खेलमा  हार र जित निकाल्न सकेको छ ।

Click to comment

Trending