IPL

चेन्नाईको लज्जास्पद हार, प्लेअफको आशा क्षीण बन्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो ११औं खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्ससँग १० विकेटको लज्जास्पद हारको सामना गरेको छ ।

सानदार जित दर्ता गराएको मुम्बई अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने आजको हार पछि चेन्नाईको प्लेअफमा पुग्ने सम्भावना क्षीण बन्दै गएको छ । प्ले अफको सम्भावना कायमै राख्न चेन्नाईलाई आजको खेल जित्नै पर्ने हुन्थ्यो । तर आजको हार पछि चेन्नाई आईपीएलमा पहिलो पटक प्लेअफबाट बन्चित हुने संघारमा रहेको छ ।

जितका लागि ११५ रनको सामान्य लक्ष्य लिएर ब्याटिंङमा आएको मुम्बईले १२ दशमलब दुई ओभर खेल्दै बिना विकेटको क्षतीमा जित दर्ता गर्यो ।

मुम्बईको जितमा अविजित रहेका इशान किशान र क्विन्टन डि ककले क्रमश ६८ र ४६ रन बनाए । सर्वाधिक रन बनाएका किशानले ३७ बल खेल्दै छ चौका र पाँच छक्का तथा ३७ बल नै खेलेका डि ककले पाँच चौका र दुई छक्का प्रहार गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै ओभर खेल्दै आठ विकेटको नोक्सानीमा ११४ रन बनायो ।

चेन्नाईलाई लज्जास्पद स्कोरमा समेटिनबाट जोगाउने क्रममा सातौं नम्बरमा आएका साम कुर्रानले ट्रेन्ट बोल्टको बलमा आउट हुनु अघि सर्वाधिक ५२ रन बनाए । पारीको अन्तिम बलमा आउट भएका उनले ४७ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे ।

ट्रेन्ट बोल्टको खेलको पहिलो ओभरको पाँचौं बलमा ओपनर रुतुराज गाइकवाड (पाँच बलमा शुन्य रन) लाई गुमाएर खराब सुरुवात गरेको चेन्नाईले दोश्रो ओभरको चौथों र पाँचौं बलमा क्रमश दुई रन बनाएका अम्बाती रायुडू र गोल्डेन डकआउट भएका नारायण जगदिसानलाई गुमाउन पुग्यो । रायुडू र जगदिसानको दुबैको विकेट जस्प्रित बुम्राले लिए ।

अर्का ओपनर फाफ डु प्लेसिस एक रन बनाएर तथा रविन्द्र जदेजा पनि सात रन बनाएर ट्रेन्ट बोल्टको नै शिकार हुन पुगे । १६ रन बनाएका कप्तान महेन्द्र सिंह धोनी र पाँच बल खेल्दै रनको खाता खोल्न नसकेका दिपक चाहार पनि राहुल चाहारको शिकार बन्दा चेन्नाई आठ दशमलब पाँच ओभरमा सात विकेटको नोक्सानीमा ४३ रनको अवस्थामा खुम्चिन पुग्यो ।

साम कुर्रान र शार्दुल ठाकुरले आठौँ विकेटका लागि २८ रन जोड्दै चेन्नाईको पारी सम्हाल्ने प्रयास गरे पनि ठाकुर ११ रन बनाएर पेभेलियन फर्किए । त्यस्तै कुर्रानले नवौं विकेटका लागि १३ रनमा अविजित रहेका इमरान ताहिरसँग मिलेर ४३ रन जोड्दै चेन्नाईलाई सन्तोषजनक स्कोर सम्म पुर्याए ।

चेन्नाईको पारी ध्वस्त पार्ने क्रममा चार ओभर बलिङ गरेका ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र राहुल चाहारले पनि क्रमश १५ र २२ रन खर्चदै समान दुई-दुई विकेट हात पारे ।

आजको खेलमा मुम्बईले आफ्नो नियमित कप्तान रोहित शर्मालाई बिश्राम दिएको छ भने उनको स्थानमा काइरण पोलार्डले कप्तानी गरेका छन् ।

Click to comment

Trending