IPL

पाण्डे र शंकरको शतकीय साझेदारीमा हैदराबादको सहज जित

Published

on

मनिष पाण्डे र विजय शंकरले अर्धशतकीय पारी खेलेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४०औं खेलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई आठ विकेटको अन्तरले पराजित गरेको छ । यस जितसँगै हैदराबाद आठ अंकका साथ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने आठ अंक नै रहे पनि राजस्थान सातौं स्थानमा झर्न पुगेको छ ।

११ खेल खेलेको राजस्थानले चार खेलमा जित निकाल्दा सात खेलमा पराजय भोगेको छ भने १० खेल खेलेको हैदराबादले छ खेलमा नै पराजित हुँदा चार खेलमा जित आत्मसाथ गर्न सकेको छ ।

जितका लागि १५५ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको हैदराबादले पहिलो तीन ओभर भित्र नै ओपनरद्वय डेभिड वार्नर (चार रन) र जोनी बेरिस्टो (१०) लाई गुमाएर खराब सुरुवात गरे पनि मनिष पाण्डे र विजय शंकरले तेश्रो विकेटका लागि अविजित १४० रनको साझेदारी गर्दै १८ दशमलब एक ओभरमा आफ्नो टोलीलाई सहज जित दिलाए ।

हैदराबादलाई सहज जित दिलाउने क्रममा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाण्डेले सर्वाधिक ८३ रन बनाए भने शंकरले पनि ५२ रनको पारी खेले । अविजित रहेका पाण्डे र शंकरले क्रमश ४७ बलको सामना गर्दै चार चौका र आठ छक्का तथा ५१ बल खेल्दै छ चौका प्रहार गरे ।

राजस्थानका जोफ्रा आर्चरले सुरुवातमा नै दुई विकेट लिए पनि त्यस पछिका बलरहरु विकेट बिहिन बन्न पुगे पछि राजस्थानले राम्रो सुरुवातका बाबजुद हारको सामना गर्न पर्यो । चार ओभर बलिङ गरेका आर्चरले २१ रन खर्चिए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५४ रन मात्र बनाउन सक्यो ।

राजस्थाको तर्फबाट सन्जु सामसनले २६ बल खेल्दै सर्वाधिक ३६ रन बनाए भने बेन सटोक्सले पनि ३० रनको पारी खेले । राजस्थानका अन्य ब्याट्सम्यानमा रबिन उथप्पा १९, जस बटलर नौं, कप्तान स्टिभ स्मिथ १९, रियान पराग १२ बलमा २० रन बनाएर आउट भए भने जोफ्रा आर्चरले सात बलमा अविजित १६ रनको पारी खेले ।

राजस्थानलाई सस्तैमा रोक्ने क्रममा यस सिजनको आईपीएलमा पहिलो खेल खेलेका जेसन होल्डरले सर्वाधिक तीन विकेट हात पारे । किफायती बलिङ गरेका रशिद खानले एक विकेट मात्र लिए पनि चार ओभरमा २० रन मात्र खर्चिए भने विजय शंकरले पनि तीन ओभरमा १५ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले हैदराबादलाई पाँच विकेटले पराजित गरेको थियो । हैदराबादले दिएको १५९ रनको लक्ष्य राजस्थानले एक बल बाँकी रहँदा पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

Click to comment

Trending