IPL

बेंगलोरसँग कोलकाताको लज्जास्पद हार 

Published

on

मोहम्मद सिराजले घातक बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १०औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध कोलकाताका नाइट राईडर्सले लज्जास्पद हारको सामना गरेको छ ।

जितका लागि ८५ रनको झिनो लक्ष्य लिएर ब्याटिङमा आएको बेंगलोरले १३ दशमलब तीन ओभर खेल्दै दुई विकेटको नोक्सानीमा जित दर्ता गर्यो ।

यस जितसँगै बेंगलोर अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । १० खेल खेलेको बेंगलोरले सात खेलमा जित दर्ता गर्दै १४ अंकका साथ दोश्रो स्थानमा पुगेको हो । दिल्ली क्यापिटल्सको पनि समान १४ अंक नै रहे पनि दिल्ली नेट रन रेटका आधारमा पहिलो स्थानमा पकड जमाउन सफल भएको हो । १०औं खेलमा कोलकाताको भने यो पाँचौं हार हो ।

बेंगलोरको जितमा ओपनरद्वय देवदत्त पडिकलले २५ तथा आरोन फ़िञ्चले १६ रन बनाएर आउट भए भने गुरकिरत सिंह र कप्तान बिराट कोहलीले अविजित रहँदै क्रमश २१ र १८ रन बनाए बनाए ।

यस अघि बेंगलोरका बलरहरुको अगाडी ब्याट्सम्यानहरु निरिह बन्दा शेख जायद रंगशाला, अबुधबीमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेलेर आठ विकेटको नोक्सानीमा ८४ रन बनाउन सक्यो ।

कोलकाताको तर्फबाट कप्तान ओइन मोर्गनले सर्वाधिक ३० रन बनाए । ३४ बलको समान गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । मोर्गन बाहेक कुलदिप यादव १२, टम बान्टन १० रनमा आउट भए भने लुकी फर्गुसन १९ रनमा अविजित रहे ।

निकै खराब सुरुवात गरेको कोलकाताले दोश्रो ओभरको तेश्रो र चौथों बलमा नै ओपनर राहुल त्रिपाठी (पाँच बलमा एक रन) तथा पहिले बलमा नै गोल्डे डक आउट भएका नितिश राना दुबै मोहम्मद सिराजको बलमा आउट भए । तेश्रो ओभरको दोश्रो बलमा अर्का ओपनर शुबमन गिल पनि एक रन बनाएर नवदिप साइनीको बलमा पेभेलियन फर्किय ।

आजको खेलमा निकै घातक बलिङ गरेका सिराजको दोश्रो ओभरको तेश्रो बलमा आठ बलमा १० रन बनाएका टम बान्टन पनि विकेट किपर एबी डि भिलियर्सको हातबाट क्याच आउट हुन पुगे । त्यस पछि ब्याटिङमा आएका दिनेश कार्तिक चार रन बनाएर युज्बेन्द्र चाहालको बलमा एलबीडब्लुको धरापमा परे ।

प्याट कमिन्स चार तथा कप्तान मोर्गन ३० रन बनाएर क्रमश चाहाल र वाशिंगटन सुन्दरको बलमा आउट हुँदा कोलकाता १५ दशमलब चार ओभरमा ५७ रनमा सात विकेटको अवस्थामा खुम्चिन पुग्यो । कुलदिप यादव र लुकी फर्गुसनले आठौँ विकेटका लागि २७ रन जोड्दै कोलकातालाई ८४ रनको अवस्था सम्म पुर्याउन सके ।

कोलकातालाई सानो योगफलमा रोक्ने क्रममा बेंगलोरका मोहम्मद सिराजले चार ओभर बलिङ गर्दै दुई मेडन ओभर सहित मात्र आठ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे । सुरुवाती तीन ओभरमा दुई मेडन ओभर राख्दै दुई रन खर्चिएर सिराजले अन्तिम ओभरमा भने छ रन खर्चिए र विकेट हात पार्न सकेनन् । त्यस्तै किफायती बलिङ गरेका युज्बेन्द्र चाहालले पनि चार ओभरमा १५ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले कोलकातालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । एबी डि भिलियर्सले ३३ बल खेल्दै पाँच चौका र छ छक्काको मद्धतमा ७३ रन बनाए पछि खेलमा पहिले ब्याटिङ गरेको बेंगलोरले दुई विकेटको नोक्सानीमा १९४ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र ११२ रन बनायो ।

Click to comment

Trending