मोहम्मद सिराजले घातक बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १०औं खेलमा अंक तालिकाको तेश्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले ८५ रनको सानो लक्ष्य पाएको छ ।
बेंगलोरका बलरहरुको अगाडी कोलकाता नाइट राईडर्सका ब्याट्सम्यानहरु निरिह बन्द शेख जायद रंगशाला, अबुधबीमा टस जितेर पहिले ब्याटिङ गर्दै पुरै २० ओभर खेलेर आठ विकेटको नोक्सानीमा ८४ रन बनाउन सक्यो ।
कोलकाताको तर्फबाट कप्तान ओइन मोर्गनले सर्वाधिक ३० रन बनाए । ३४ बलको समान गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । मोर्गन बाहेक कुलदिप यादव १२, टम बान्टन १० रनमा आउट भए भने लुकी फर्गुसन १९ रनमा अविजित रहे ।
निकै खराब सुरुवात गरेको कोलकाताले दोश्रो ओभरको तेश्रो र चौथों बलमा नै ओपनर राहुल त्रिपाठी (पाँच बलमा एक रन) तथा पहिले बलमा नै गोल्डे डक आउट भएका नितिश राना दुबै मोहम्मद सिराजको बलमा आउट भए । तेश्रो ओभरको दोश्रो बलमा अर्का ओपनर शुबमन गिल पनि एक रन बनाएर नवदिप साइनीको बलमा पेभेलियन फर्किय ।
आजको खेलमा निकै घातक बलिङ गरेका सिराजको दोश्रो ओभरको तेश्रो बलमा आठ बलमा १० रन बनाएका टम बान्टन पनि विकेट किपर एबी डि भिलियर्सको हातबाट क्याच आउट हुन पुगे । त्यस पछि ब्याटिङमा आएका दिनेश कार्तिक चार रन बनाएर युज्बेन्द्र चाहालको बलमा एलबीडब्लुको धरापमा परे ।
प्याट कमिन्स चार तथा कप्तान मोर्गन ३० रन बनाएर क्रमश चाहाल र वाशिंगटन सुन्दरको बलमा आउट हुँदा कोलकाता १५ दशमलब चार ओभरमा ५७ रनमा सात विकेटको अवस्थामा खुम्चिन पुग्यो । कुलदिप यादव र लुकी फर्गुसनले आठौँ विकेटका लागि २७ रन जोड्दै कोलकातालाई ८४ रनको अवस्था सम्म पुर्याउन सके ।
कोलकातालाई सानो योगफलमा रोक्ने क्रममा बेंगलोरका मोहम्मद सिराजले चार ओभर बलिङ गर्दै दुई मेडन ओभर सहित मात्र आठ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे । सुरुवाती तीन ओभरमा दुई मेडन ओभर राख्दै दुई रन खर्चिएर सिराजले अन्तिम ओभरमा भने छ रन खर्चिए र विकेट हात पार्न सकेनन् । त्यस्तै किफायती बलिङ गरेका युज्बेन्द्र चाहालले पनि चार ओभरमा १५ रन खर्चिएर आफ्नो नाममा दुई विकेट दर्ता गराए ।
आजको खेलमा कोलकाताले दुई तथा बेंगलोरले एक मात्र परिवर्तन गरेको छ । कोलकाताले आन्द्रे रसेल र शिवम मावीको स्थानमा टम बान्टन र प्रशिद कृष्णालाई तथा बेंगलोरले शहबाज अहमदको स्थानमा मोहम्मद सिराजलाई सुरुवाती ११ मा स्थान दिएको छ ।
समान ९-९ खेल खेलेका बेंगलोर र कोलकाता क्रमश १२ र १० अंक सहित अंक तालिकाको तेश्रो र चौथों स्थानमा रहेका छन् । यस सिजन बेंगलोरले छ खेलमा जित हात पार्दा कोलकाताले पाँच खेल मात्र आफ्नो पक्ष्यमा पार्न सकेको छ ।
यस अघि भएको पहिलो लेगमा बेंगलोरले कोलकातालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । एबी डि भिलियर्सले ३३ बल खेल्दै पाँच चौका र छ छक्काको मद्धतमा ७३ रन बनाए पछि खेलमा पहिले ब्याटिङ गरेको बेंगलोरले दुई विकेटको नोक्सानीमा १९४ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र ११२ रन बनायो ।