IPL

टस जितेर दिल्ली पहिले ब्याटिङमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो १० औं खेलमा अंक तालिकाको शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सले किंग्स ११ पन्जाब विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा दिल्लीका कप्तान श्रेयस ऐयरले टस जितेर ब्याटिङ रोजेका हुन् ।

दिल्लीले आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई सुरुवाती ११ मा स्थान दिएको छैन । यस अघिका नौं खेलमा पनि बेञ्चमा नै बस्न बाध्य भएका सन्दिप आज पनि बेञ्चमा नै रहेका छन् । दिल्लीले आजको खेलमा तीन परिवर्तन गर्दा पनि उनलाई खेल्ने मौका नदिएको हो ।

नौं खेल खेलेको दिल्लीले सात खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजित भएको छ । पन्जाबले भने तीन खेलमा मात्र जित दर्ता गराउँदा छ खेलमा पराजय भोगेको छ । दिल्ली १४ अंक सहित अंक तालिकाको पहिलो स्थान तथा पन्जाब छ अंकका साथ सातौं स्थानमा रहेको छ ।

समान नौं खेल खेलेका मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर समान १२-१२ अंक भए पनि नेट रन रेटका आधारमा क्रमश तालिकाको दोश्रो र तेश्रो स्थानमा रहेका छन् । त्यसैले दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो पकड जमाउन चाहन्छ ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक खोस्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ रन बनायो भने जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १५७ बनाउन सक्यो ।

अन्तिम दुई बलमा जितका लागि पन्जाबलाई एक रन चाहिएको अवस्थामामा दिल्लीका मार्कस स्टोइनिशले दुई बलमा लगातार दुई विकेट लिंदै खेललाई सुपर ओभरमा पुर्याएका थिए ।

Click to comment

Trending