IPL

धवनको शतकमा चेन्नाई माथि दिल्लीको रोमान्चक जित 

Published

on

ओपनर शिखर धवनको शतक र अक्सर पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्स माथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ ।

जितसँगै मुम्बई भन्दा एक खेल बढी खेलेको दिल्ली १४ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा पनि उक्लिन सफल भएको छ । आठ खेल खेलेको मुम्बई छ जितका साथ दोश्रो स्थानमा रहेको छ ।

जितका लागि १८० रनको चुनौतीपूर्ण लक्ष्य लिएर ब्याटिङमा आएको दिल्लीले १९ दशमलब पाँच ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

दिल्लीको जितमा ओपनर शिखर धवनले अविजित रहँदै शतक प्रहार गरे अन्तिम ओभरमा जितका लागि १७ रन आवस्यक रहेको अवस्थामा अक्सर पटेल तीन छक्का प्रहार गर्दै दिल्लीलाई जित दिलाए । ५८ बलको सामना गरेका धवनले १४ चौका र एक छक्का प्रहार गरे भने पटेलले तीन छक्काको मद्धतमा पाँच बलमा २१ रनको तुफानी पारी खेले ।

दिल्लीले पनि सुरुवात राम्रो गर्न सकेन । उसका ओपनर पृथ्वी श रनको खाता पनि खोल्न नसकी पारीको दोश्रो बलमा नै दिपक चाहारको बलमा कट एण्ड बोल्ड हुँदै पेभेलियन फर्किए भने अजिंक्य रहानेले पनि आठ रन भन्दा जोड्न सकेनन् ।दिल्लीका अन्य ब्याट्सम्यानमा कप्तान श्रेयस ऐयर २३, मार्कस स्टोइनिश २४ रन बनाएर आउट भए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७९ रन बनायो ।

सुरुवात भने चेन्नाईले राम्रो गर्न सकेन । पहिलो ओभरको तेश्रो बलमा नै ओपनर साम कुर्रान खाता पनि खोल्न नसकी पेभेलियन फर्किए । त्यस पछि अर्का ओपनर फाफ डु प्लेसिस र शेन वाटसनले दोश्रो विकेटका लागि ११ दशमलब एक ओभरमा ८७ रनको साझेदारी गर्दै चेन्नाईको पारी सम्हाले ।

२८ बलमा ३६ रन बनाएका वाटसन एन्ड्र्यु नोर्ट्जे बलमा आउट भए भने डु प्लेसिसले अम्बाती रायुडूसँग मिलेर चेन्नाईको पारी सम्हाल्ने प्रयास गरे । तर ४७ बलमा छ चौका र दुई छक्का सहित ५८ रन बनाएका डु प्लेसिस र कप्तान महेन्द्र सिंह धोनी मात्र तीन बनाएर आउट हुँदा चेन्नाई १६ दशमलब तीन ओभरमा १२९ रनमा चार विकेटको अवस्थामा पुग्यो ।

त्यस पछि २५ बलमा एक चौका र चार छक्काको मद्धतमा रायुडूले ४५ र मात्र १३ बल खेल्दै चार चक्का सहित ३३ रन बनाएका जडेजा दुबैजना अविजित रहे । उनीहरुले तीन दशमलब तीन ओभरमा पाँच छक्का र एक चौका सहित पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरे । पारीको अन्त्यमा उनीहरुले आक्रमक पारी खेल्दा चेन्नाईले दिल्लीलाई १८० रनको चुनौतीपूर्ण लक्ष्य दिन सकेको हो ।

दिल्लीका एन्ड्र्यु नोर्ट्जे सर्वाधिक दुई विकेट लिए भने तुषार देशपाण्डे र कागिसो रवाडाले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले चेन्नईलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । ओपनर पृथ्वी शको अर्धशतकमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७५ रन बनायो भने जवाफी ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेले पनि सात विकेटको नोक्सानीमा मात्र १३१ रन बनाउन सक्यो ।

Click to comment

Trending