IPL

पारीको अन्त्यमा रायुडू र जडेजाले आक्रमक पारी खेल्दा दिल्लीलाई १८० रनको चुनौतीपूर्ण लक्ष्य

Published

on

फाफ डु प्लेसिसको अर्धशतक तथा रविन्द्र जडेजा र अम्बाती रायुडूले पारीको अन्तिम २१ बलमा ५० रन जोड्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १८० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाईले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७९ रन बनायो ।

सुरुवात भने चेन्नाईले राम्रो गर्न सकेन । पहिलो ओभरको तेश्रो बलमा नै ओपनर साम कुर्रान खाता पनि खोल्न नसकी पेभेलियन फर्किए । त्यस पछि अर्का ओपनर फाफ डु प्लेसिस र शेन वाटसनले दोश्रो विकेटका लागि ११ दशमलब एक ओभरमा ८७ रनको साझेदारी गर्दै चेन्नाईको पारी सम्हाले ।

२८ बलमा ३६ रन बनाएका वाटसन एन्ड्र्यु नोर्ट्जे बलमा आउट भए भने डु प्लेसिसले अम्बाती रायुडूसँग मिलेर चेन्नाईको पारी सम्हाल्ने प्रयास गरे । तर ४७ बलमा छ चौका र दुई छक्का सहित ५८ रन बनाएका डु प्लेसिस र कप्तान महेन्द्र सिंह धोनी मात्र तीन बनाएर आउट हुँदा चेन्नाई १६ दशमलब तीन ओभरमा १२९ रनमा चार विकेटको अवस्थामा पुग्यो ।

त्यस पछि २५ बलमा एक चौका र चार छक्काको मद्धतमा रायुडूले ४५ र मात्र १३ बल खेल्दै चार चक्का सहित ३३ रन बनाएका जडेजा दुबैजना अविजित रहे । उनीहरुले तीन दशमलब तीन ओभरमा पाँच छक्का र एक चौका सहित पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरे ।

दिल्लीका एन्ड्र्यु नोर्ट्जे सर्वाधिक दुई विकेट लिए भने तुषार देशपाण्डे र कागिसो रवाडाले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

आजको खेलमा चेन्नाईले एक परिवर्तन गरेको छ । चेन्नाईले पियुष चावलाको स्थानमा केदार जाधवलाई सुरुवाती ११ मा स्थान दिएको छ । दिल्लीले भने आज आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन ।

समान ८-८ खेल खेलेका दिल्ली र चेन्नाई अंक तालिकामा क्रमश दोश्रो र छैठौं स्थानमा रहेका छन् । आठ खेलमा दिल्लीको छ मा जित तथा दुईमा हार व्यहोर्दै १२ अंक रहेको छ भने तीन जित र पाँच हारका साथ चेन्नाईको छ अंक मात्र रहेको छ ।

यस अघि भएको पहिलो लेगमा दिल्लीले चेन्नईलाई ४४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । ओपनर पृथ्वी शको अर्धशतकमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७५ रन बनायो भने जवाफी ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेले पनि सात विकेटको नोक्सानीमा मात्र १३१ रन बनाउन सक्यो ।

Click to comment

Trending