IPL

तुफानी पारी खेल्दै एबी डि भिलियर्सले दिलाए बेंगलोरलाई रोमान्चक जित

Published

on

एबी डि भिलियर्सको आक्रमक अर्धशतकको मद्धतमा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्स माथि सात विकेटको रोमान्चक जित दर्ता गराएको छ ।

आजको जितका बाबजुद बेंगलोर अंक तालिकाको तेश्रो स्थानमा नै रहेको छ भने राजस्थान अंक तालिकामा सातौं स्थानमा नै छ । नौं खेलमा बेंगलोरको यो छैठौं जित हो भने राजस्थानको छैठौं हार हो । एक खेल कम खेलेका मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको पनि समान १२-१२ अंक नै रहे पनि अंक तालिकामा क्रमश पहिलो र दोश्रो स्थानमा छन् ।

१७८ रनको लक्ष्य सहित ब्याटिङमा आएको बेंगलोरले १९ दशमलब चार ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित आत्मसाथ गरेको हो ।

बेंगलोरको जितमा एबी डि भिलियर्सले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । २२ बलको सामना गरेका उनले एक चौका र छ छक्का प्रहार गरे । बेंगलोरलाई रोमान्चक जित दिलाउने क्रममा तुफानी पारी खेलेका डि भिलियर्सले १७ बलमा १९ रन बनाएका गुरकिरत सिंहसँग मिलेर छ दशमलब तीन ओभरमा चौथों विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे ।

बेंगलोरका ओपनर आरोन फ़िञ्च ११ बलमा १४ रन मात्र बनाएर आउट भए पनि अर्का ओपनर देवदत्त पडिकल र कप्तान विराट कोहलीले दोश्रो विकेटको लागि ७९ रनको साझेदारी गर्दै बेंगलोर पारी सम्हाले । तर दुई बलको अन्तरालमा ३७ बलमा ३५ रन बनाएका पडिकल र ३२ बलमा ४३ रन बनाएका कोहली आउट हुँदा बेंगलोर १३ दशमलब एक ओभरमा तीन विकेटको नोक्सानीमा १०२ रनको स्थितीमा पुग्यो ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७७ रन बनायो ।

राजस्थानका ओपनरद्वय रविन उथप्पा र बेन सटोक्स पहिलो विकेटका लागि पाँच दशमलब चार ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । १९ बलमा १५ रन बनाएका स्टोक्स आउट भए पनि उथप्पाले ठुलो सट खेल्न छाडेनन् ।

तर आठौं ओभरको चौथों र पाँचौं बलमा युज्बेन्द्र चाहालले २२ बलमा सात चौका र एक छक्का सहित ४१ रन बनाएका उथप्पा र छ बलमा नौं रन बनाएका सन्जु सामसनको विकेट निकाल्दै बेंगलोरलाई खेलमा फर्काउने प्रयास गरे ।

कप्तान स्टिभ स्मिथ र जस बटलरले चौथों विकेटका लागि ४६ बलमा ५८ रन जोड्दै राजस्थानको पारी सम्हाले । तर २५ बलमा २४ रन बनाएका बटलर क्रिस मोरिसको बलमा आउट हुन पुगे । राजस्थाको पारीको अन्तिम ओभरमा आउट भएका स्मिथले ३६ बल खेल्दै छ चौका र एक छक्काको मद्धतमा सर्वाधिक ५७ रन बनाए । राहुल टेवाटिया १९ रनमा अविजित रहे ।

बेंगलोरका क्रिस मोरिसले चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने युज्बेन्द्र चाहालले पनि चार ओभरमा नै ३४ रन दिंदै दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending